संवेदनहीनताको पराकाष्ठा : सुत्केरीको रक्तस्राव रोक्ने औषधि ६१ जिल्लामा पुगेन, तर बजेट फ्रिज हुँदै

अढाई महिनादेखिको लकडाउनका कारण यसै पनि गर्भवती महिला र सुत्केरी आमाहरूले सहज स्वास्थ्य उपचार पाइरहेका छैनन् । सरकारको लापरबाहीका कारण यहीवेला सुत्केरी अवस्थामा हुने अत्यधिक रक्तस्राव रोक्न दिइने ‘मिसोप्रोस्टोल’  नामक औषधिको पनि देशभर चरम अभाव भएको छ । औषधि किन्न स्थानीय तहहरूलाई चालू वर्ष दिइएको बजेट अहिलेसम्म खर्च भएको छैन । 

नेपालमा मातृमृत्युको प्रमुख कारण सुत्केरी अवस्थामा हुने रक्तस्राव हो । यसको जोखिम कम गर्न ६१ जिल्लामा सरकारले महिला स्वयंसेविकामार्फत र १६ जिल्लामा वान हार्ट वल्र्डवाइड नामक गैरसरकारी संस्थाले ‘मिसोप्रोस्टोल’ चक्की वितरण गर्दै आएको थियो । तर, चालू आर्थिक वर्षमा स्थानीय तहहरूले खरिद नगर्दा पाँच महिनादेखि चरम अभाव भएको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए । वान हार्टले वितरण गरिरहेका जिल्लामा भने सुत्केरीहरूले औषधि पाइरहेका छन् । 

डा. तिंकरीका अनुसार मिसोप्रोस्टोलको अभावका कारण कतिपय गर्भवती महिलाले ज्यान गुमाइसकेका छन् । ‘पाँच महिनादेखि मिसोप्रोस्टोलको चरम अभाव छ । औषधि नभएपछि कतिपय महिलाको रक्तस्रावका कारण मृत्यु भएको छ । स्थानीय तहमा पैसा राखेर रक्तस्राव रोकिँदैन, रक्तस्रावबाट हुने मृत्युलाई कम गर्न अनिवार्य औषधि नै खानुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: : 2020-06-08 08:43:51

प्रतिकृया दिनुहोस्