नेपालबाट भारतीय रूपियाँ (भारू) लाई विस्थापन गरी नेपाली रुपैयाँ (नेरू) प्रचलित गराउने मुख्य व्यक्ति हुन्, हिमालयसमशेर राणा, ९३ । यो महत्वपूर्ण कामका लागि नेपालीले उनलाई चीरकालसम्म सम्झिरहने छन् ।
राष्ट्रबैंक स्थापना गर्न पहल गर्ने र त्यसलाई स्थापना गरी सञ्चालन गर्ने मुख्य व्यक्ति हुन्, उनी । उनी राष्ट्र बैंकका संस्थापक गभर्नर हुन् । त्यसअघि अर्थसचिव थिए ।
त्यसबेला सरकारी दस्तुर, मालपोतसमेत भारूमा तिरिन्थ्यो । उनी सम्झन्छन्, तराईमा त भारू नोट मात्र होइन, विद्यालयमा पनि 'राष्ट्रपति राजेन्द्रप्रसाद' भनेर पढाइन्थ्यो ।'
नेपालको अर्थतन्त्र पनि एकीकृत थिएन । मध्यपहाड र राजधानी एक ठाउँमा थियो, पूर्वी पहाड र विराटनगर बेग्लै । वीरगञ्ज र तराई बेग्लै 'सेगमेन्ट' थियो भने पश्चिम क्षेत्र बेग्लै । राष्ट्रबैंक स्थापना र नेरू प्रचलनले देशको अर्थतन्त्रलाई एकीकरण गरेको थियो । नेपाली राष्ट्रियतालाई मजबुत बनाएको थियो । उनी सम्झन्छन्, 'भारूको सट्टा नेरू चलाउन सक्ने कुरा कसैले पत्याएको थिएन । त्यही कामका लागि मलाई सम्झन्छन् अझै।'
०१७ बैशाख १ गतेदेखि भारु एक सय बराबर नेरू १६० को सटही दर उनैले कायम गरेका थिए– तीन वर्षलामो अध्ययनपछि, जुन वैज्ञानिक थियो । ६० वर्षपछि आजपर्यन्त त्यही स्थिर दर कायम छ । यो कसरी संभव भयो त ?
सुधारवादी राणा प्रधानमन्त्री देवसमशेरका नाति हुन्, हिमालय । ००८ सालमा नेपालको पहिलो बजेट ल्याउँदा उनी अर्थसचिव थिए । ०१३ सालमा राष्ट्र बैंक स्थापना गर्दा गभर्नर भए । ६५ वर्षपछि राष्ट्र बैंकको भूमिका फेरिएको छ । वयोवृद्ध अर्थशास्त्री अहिले राष्ट्र बैंक र नेपालको राष्ट्रिय अर्थतन्त्र हेर्दा पुलकित हुन्छन् । प्रारम्भिक कालका ती दिन सम्झन्छन् । उनीसँग नेपालमा भारुको साटो नेपाली नोट चलनचल्तीमा ल्याउँदाको अनुभवबारे माधव ढुङ्गेल र राजेन्द्र कुँवरले गरेको संवाद :
६५ वर्षको अन्तरालपछि राष्ट्रबैंकलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
आकाश–जमीनको फरक छ नि !
पहिलो चोटी केन्द्रीय बैंक स्थापना गर्दाको नेपालको अर्थतन्त्रको अवस्था कस्तो थियो ?
त्योबेला नेपालको अर्थतन्त्र एकीकृत नै थिएन । काठमाडौंलाई नै नेपाल भन्थे । काठमाडौं र पहाड एउटा एकाईं थियो । तराईको बेग्लै थियो । पूर्वी पहाड र विराटनगर क्षेत्रको आयात–निर्यात सबै जोगवनी क्षेत्रबाट थियो । मध्य–नेपाल क्षेत्रको व्यापार वीरगञ्जबाट थियो । कैलालीतिरको झुलाघाटबाट हुन्थ्यो । यस्तै–यस्तै थियो । पकेट–पकेट थियो । क्षेत्र–क्षेत्र थिए ।
राष्ट्र बैंकले गर्नै सक्दैन भनिएको थियो– तराइमा नेपाली मुद्राको चलनतल्ती । हुनै नसक्ने भनेको नेपाली मुद्रा तराइमा पनि चलनचल्तीमा संस्थागत ढंगले चलाइदियौँ । त्यसपछि तराई पनि नेपालकै अर्थतन्त्रको एउटा भाग रहेछ भन्ने कुरा बढ्दै–बढ्दै गयो । मलाई सबैले सम्झने पनि त्यसैका लागि हो ।
त्यसबेला अरु–अरु मुलुकमा राष्ट्र बैंक थिए । त्यहाँ केन्द्रीय बैंक भन्छन् । अरु धेरै बैंक भइसकेपछि तिनलाई निरीक्षण र नियमन गर्नुपर्ने कुरा हुन्छ । नेपालमा त्यस्तो जरुरत थिएन ।
मुख्य कुरा, राजा महेन्द्रलाई एउटै चिन्ता थियो– राज्य (नेपाल) मा दुइटा मुद्रा चलनचल्तीमा आउनु भएन । तराईमा पनि नेपाली मुद्राको चलनचल्ती मिलाइदिनुपर्यो । नेरु–भारुको सटही दर पनि निरीक्षण गरिदिनुपर्यो भनियो । त्यो असंभव भन्ने थियो । छोटकरीमा कुरा गर्दा त्यसमा हामी सफल भयौँ । इन्द्रचोकको बजारमा भारु–नेरु (भारतीय रुपियाँ र नेपाली रुपैयाँ) को भाउ घट्बढ भइराख्ने गथ्र्यो । सट्टाबाजी पनि हुन थाल्यो । त्यसले गर्दा यो समस्या हल गर्नुपर्यो ।
के मुख्य जिम्मेवारी थियो, राष्ट्र बैंकका पहिलो गभर्नरमाथि ? अहिले कति फेरिएको छ यो ?
त्यो भएपछि नेपालको अर्थतन्त्र एकीकृत (युनिफाइड) भयो अलिकति । एकीकरण बढ्दै–बढ्दै गयो । अहिले अर्थतन्त्र एक भएको छ । त्योबेलाको राष्ट्रबैंकको लक्ष्य त त्यो मात्र थियो ।
अहिले आएर राष्ट्रबैंकको मुख्य लक्ष्य त मौद्रिक नीति हो । हाम्रो मुद्राको मूल्य हेरफेर हुन नदिने, मुद्रास्फीतिलाई नियन्त्रण गर्ने हो । अनि बैंकहरुलाई सुपरीवेक्षण गर्ने छ । पहिले र अहिलेको प्राथमिकतामा धेरै फरक भइसकेको छ ।
नेरुकाे विदेशी मुद्रासँग सटही दर भारतीय रुपैयाँसँगै ‘टाइ अप’ भइरहेको छ नि !
नेरु–भारुको स्थीर सटही दर छ । त्यसैले गर्दा भारतमा डलरको भाउ बढ्यो भने यहाँ पनि बढ्छ । त्यसमा दुई वटा विचार हुनसक्छ । नेरु–भारुको दर बजारलाई निर्धारण गर्न दिनुपर्छ भन्ने एउटा दृष्टिकोण छ । तर, ०१७ साल बैशाखदेखि नेरु–भारुको दर चाहिँ एक सय भारु बराबर एक सय साठी नेरुमा ‘फिक्स्ड कन्भर्टेबल’ गरेको हो ।
त्यो केको आधारमा गरिएको थियो ? फाइदा के थियो ?
ठूलो अध्ययनको आधारमा गरिएको थियो त्यो । तीन वर्ष लगाएर सम्पूर्ण नेपालको विराटनगर क्षेत्र, वीरगञ्ज क्षेत्र, सुदूर पश्चिम क्षेत्र सबै ठाउँमा भारु कति छ, कति कारोबार हुन्छ ? त्यो सब ‘फ्याक्ट्स एण्ड फिगर’ लिएर ‘१०० बराबर १६०’ को दर राख्यो भने हामी स्वतन्त्र रुपमा सट्टापट्टा गर्न सक्छौँ भन्ने निकालेका हौँ।
मुख्य कुरा के भने उसबेलाको तराईमा मान्छेले सिमानापारि गएर मालताल खरीद गरेर ल्याउँथे । त्यस्तो सम्बन्ध भएको ठाउँमा भारु चलनचल्ती नगर, नेरु चलनचल्ती गर भनेर किन मान्ने ? उनीहरु त्यसबेला मान्थे, जुनबेलामा नेरुबाट भारु, भारुबाट नेरु सहजताका साथ सटही गर्न पाउने व्यवस्था हुन्थ्यो । एउटा स्थिर दरमा भयो भने मान्थे । त्यही कुरा हामीले गर्यौँ ।
भारुभन्दा नेरु अलि सस्तो भयो भने सजिलै सफल होला भनेर यस्तो दर राखिएको हो कि अरु वैज्ञानिक आधार पनि छन् ?
जोखाना हेरेर १०० बराबर १६० राखेको होइन । वैज्ञानिक अध्ययन गरेर १६० को दरमा हामीले स्वतन्त्र रुपमा सटही गर्न सक्छौँ भनेका छौँ ।
१६० गर्यौँ हामीले । सफल भयो । त्यसपछि मेरो डाह इष्र्या गर्ने मान्छे थिए नि ! हिमालय समशेरले गर्नै नसक्ने कुरा गर्यो भनेर हाम्रो मुद्रा १३५–१४० भइराखेकोमा १६० गर्यो । हाम्रो मुद्रालाई अवमूल्यन गर्यो भनेर लौ घटाउँछौँ भनेर घटायो । छ महिना हो कि एक वर्ष पनि अड्न सकेन । फेरि १६० मै गयो ।
किनकि, सय बराबर १६० चाहिँ वैज्ञानिक थियो । आयात–निर्यात, ‘ब्यालेन्स अफ पेमेन्ट’ (शोधनान्तर स्थिति) को आधारमा गरिएको कुरा हो । आफ्नो इच्छाअनुसारको दर राख्न सकिँदैन नि ! बजारको ‘फोर्स’ धान्न सकिँदैन नि !
‘फिक्स्ड एक्सजेञ्ज रेट’को फाइदा चाहिँ के हुने रहेछ ?
‘फिक्स्ड एक्सजेञ्ज रेट’ को फाइदा व्यावसायिक समुदायले ‘एप्रिसियट’ गर्यो । कारण के रहेछ भने ०१७ सालबाट अहिले ०७७ साल– ६० वर्षसम्म व्यापार गर्दा वा औद्योगिक वस्तु उत्पादन गर्दा विदेशी विनिमयको जोखिम झेल्नुपरेन ।
अरु मुलुकहरुमा कहिलेकाहीँ कस्तो पर्छ भने– जापानले एकदमै राम्रो वस्तु उत्पादन गरेर बजारमा पठाइरहेको हुन्छ, एनको भाउ बढिदियो भने महङ्गो भएर बिक्री नै रोकिन्छ । हाम्रो चाहिँ १६० को दर भएको हुनाले वदेशी विनिमय दरको चिन्ता गर्नु परेन । एउटा स्थीर स्तम्भ भयो । त्यो दर राखेर अरु कारोबार गर्ने हो । फाइदा त्यो हो । हामीले त्यसलाई बजारलाई छाडिदियो भने त ‘मारवाडी’ (व्यापारी) ले त ध्वस्त पारिहाल्छ ।
भारु छ्याप्छ्याप्ती भएको बेला नेपाली रुपैयाँ बजारमा चलनचल्तीमा ल्याउनुभो । त्यो बेला नेपाली नोटप्रतिको रेस्पोन्स कस्तो थियो ?
‘अनएक्स्पेक्डेड’ (अनपेक्षित) ! ‘सप्र्राइज्ड’ (आश्चर्यजनक) ! ‘एक्सेप्टेन्स’ (स्वीकारोक्ति) !!
कतिपयले त पैसा नै होइन पनि भनेर पनि बुझेहोलान् नि !
नेपाली मुद्रा नै ‘लिगल टेन्डर’ थिएन । सरकारी दस्तुर, सरकारी मालपोत पनि भारुमै उठाइन्थ्यो । आफ्नै मुलुकको मुद्रामा नउठाउने थियो । नेपाली मुद्रा ‘लिगल टेन्डर’ भयो ।
भारतीय मुद्रा ‘लिगल टेन्डर’ नभएपछि तराईका मान्छेले के भने भने तराई नेपालको भाग रहेछ भन्ने बल्ल महसुस भयो । नत्र विद्यालयमा पढ्दा राजेन्द्र प्रसाद राष्ट्रपति, जवाहरलाल नेहरु प्रधानमन्त्री भनेर पढाइन्थ्यो । भारु नै चलनचल्ती थियो । नेपाली पैसा चलेपछि हामी नेपाली रहेछौँ भन्ने बल्ल थाहा भो भनेर तराईका नेताहरुले भन्नुभएको थियो ।
नेरु पनि राष्ट्रनिर्माणको प्रक्रियामा मुख्य अंगको बनेछ ?
त्यसैले त मलाई मान्छेले सम्झन्छन् नि त ! मलाई त्यही कारणले सम्झने हो ।
हेर्नुस् भिडियाे