ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरू हुन्छ। देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गरेकी उनलाई आफूले रोपेको तरकारीको चिन्ता हुन्छ र बिहान उठ्नेबित्तिकै छतमा पुग्छिन्। उनको वरपरका चार पाँच घर छिमेकीले पनि उनले जस्तै कौसीमा तरकारीखेती गरेका छन्। उनीहरु पनि बिहानदेखि साँझसम्म पटक पटक कौसीमै देखिन्छन्। यी छिमेकीलाई यतिखेर बन्दाबन्दीले दिक्दार लागेको छैन। उनीहरु बन्दाबन्दीको विषयमा होइन कि आ-आफ्नो घरको छतबाटै कसको कुन तरकारी कत्रो र कस्तो भयो भन्ने बारेमा कुराकानी गर्छन्। ताम्राकारले भने, ‘अहिले यो टोलमै सबैको दैनिकी र आपसमा हुने कुराकानीको विषय पनि फेरिएको छ, हामीले अहिले आफ्नै कौसी खेतीको बारेमा कुरा गर्ने गरेका छौं।’
ग्रामीण क्षेत्रमा खेतबारी बाँझो राख्नु हुँदैन भनेझैँ अहिले शहरी क्षेत्रमा कौसी पनि बाँझो राख्नु हुँदैन भन्ने धारणाको विकास भइरहेको देखिएको छ। हुनत यहाँका मानिसले कौसीमा फलफूल तथा तरकारीखेती पहिल्यैदेखि गर्दै आएका थिए। तर कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले दुई महिना पहिलेदेखि जारी राखेको बन्दाबन्दीले गर्दा काठमाडौं उपत्यकामा कौसीखेती झन मौलाएको छ। घरको छतमा तरकारी फलाउन सकिन्छ भन्ने बुझे पनि सामान्य अवस्थामा व्यस्तताका कारण शुरु गर्न नसकेका नागरिक अहिले फुर्सदको समयको उपयोग गरिरहेका छन्। नेपाल सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले हालै कौसी खेतीलाई प्रोत्साहन गरिने बताएपछि उनीहरुमा झनै प्रोत्साहन मिलेको देखिएको छ। काठमाडौँ उपत्यकाका स्थानीय सरकारले पनि कौसीखेतीलाई प्रोत्साहित गर्ने कार्यक्रम शुरु गरेका छन्।
कामको सिलसिलामा १२ घण्टाभन्दा बढी समय घर बाहिर बिताउने ताम्राकारले फुर्सदको उपयोग गर्दै कौसीखेती शुरु गरेको छ। आफू सानो छँदा आमाबुबाले घरसँगैको जग्गामा तरकारी रोपेको मात्र देखेको उनीसँग यसअघि तरकारीखेतीको अनुभव भने छैन। उनीहरु त्यहाँबाट अर्को ठाउँमा सरेपछि आमाबुबाले पनि तरकारी रोप्न छोडेका छन्। उनले भने, ‘आफैंले तरकारी फलाएर खानु मेरो लागि जीवनकै पहिलो र नयाँ अनुभव भएको छ।’
एउटा निजी कम्पनीमा कार्यरत ताम्राकारको बन्दाबन्दीको पहिलो साता कुनै कामविहीनरुपमा नै यसै बित्यो। त्यसपछिका दिनहरुमा बन्दाबन्दी लम्बिरहँदा कौसीखेती गर्न थालेको उनले बताइन्। उनले अहिले आफ्नो घरको छतमा लसुन, प्याज, सागलगायतका तरकारी रोपेकी छन्। बन्दाबन्दीपछि रोपेकोमध्ये कतिपय तरकारी खाने समय भइसकेको र केही तरकारी केही दिनपछि खान सकिने उनले बताइन्। उनलाई कौसीखेतीप्रति पहिलेदेखि नै चाह थियो। बिहान ६ बजे घरबाट निस्केपछि कार्यालय सकेर साँझ ८ बजे आउने हुँदा यसका लागि समय मिलाउन सेकेकी थिइनन्। अहिले आवश्यक सामग्री, बीउ र मल घरमै मगाएर आफूलाई इच्छा लागेका तरकारी रोपिरहेकी छन्। उनी कतिपय पुराना अनुभव आमाबुबासँग सिक्छिन्।नयाँ सीप र तरिकाबारे युट्युब र गुगलबाट लिन्छिन्। उनले भनिन्, ‘कति पुराना र कतिपय नयाँ सीप तथा तरिकाहरु गरेर तरकारी रोप्ने, गोडमेल गर्ने आदि गरिरहेको छु, मलाई लाग्छ यस कार्यमा म सफल भइरहेको छु।’
ताम्राकारजस्तै काठमाडौंका विज्ञ बज्राचार्यले पनि बन्दाबन्दीमा समय कटाउने उपायका रुपमा कौसीखेतीलाई लिएका छन्। यो समयमा आफू भुल्ने र आफूलाई चाहिनेमध्ये थोरै भए पनि तरकारी आफैँ फलाउने हुँदा कौसीखेती शुरु गरेको उनले बताए। गैरसरकारी संस्थामा कार्यरत उनी बन्दाबन्दीका समयमा बाहिर निस्केर बिहान, साँझ हिँड्न नपाएकाले तरकारी रोप्दा र गोडमेल गर्दा व्यायामसमेत भइरहेको बताए। उनको परिवारले दुई वर्ष पहिलेदेखि नै एक दुई वटा गमलामा सिमी र धनियाँ रोप्ने गरेको थियो। अहिले उनकी श्रीमती पनि उनलाई सहयोग गर्दै आएकी छन्। एक महिना पहिले उनले सिमी, काँक्रो, रामतोरियालगायतका तरकारी रोपेका थिए। बन्दाबन्दीको समय भएकाले अहिले तरकारीखेतीका लागि आवश्यक कतिपय सामग्री भन्नासाथ उपलब्ध नभएको उनले बताए। उनले भने, ‘जति उपलब्ध छन् त्यसैबाट र बाँकी कतिपय आवश्यकताहरु युट्युबबाट सिकेर पनि गरिरहेको छु।’
कालिमाटीका सुयोग कर्माचार्यले छतमा गमला र केही बोरामा तरकारी रोप्न थालेका थिए। केही समय पहिलेसम्म नेपालस्थित एउटा विदेशी दूतावासमा कार्यरत उनी सेवानिवृत्त भएपछि कौसीखेतीमा आकर्षित भएको हो। पहिले उनी गमलामा तरकारीमा इस्कुस, चतरा र पूजा गर्नका लागि केही फूलमात्रै रोप्ने गरेका थिए। बन्दाबन्दीपछि भने उनले गुठी संस्थाद्वारा सञ्चालित तालिममा सहभागी भएर धेरै कुरा सिके। पहिले केही रोप्न खोजे पनि मर्ने र मरेपछि किन मर्यो भन्ने थाहा नभएको उनले बताए। अहिले फेसबुकमा कौसीखेती समूह रहेको र सोही समूहबाट पनि धेरै कुरा सिक्न र आपसमा बाँड्न सकिन्छ। यो खेतीलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको योजना छ। उनले भने, ‘थोरै फलाउन सक्दा पनि त्यसले सन्तोष दिने रहेछ अनि आफ्नै घरमा फलेको भनेपछि त्यसको महत्व पनि बेग्लै हुन्छ।’
तरकारी रोप्दा होस् वा त्यसको हेरचाहका लागि माटो चलाउँदा त्यसले कर्माचार्यको मनमा शान्ति र आनन्दको महसुस गराएको छ। कौसीमा फलाएको तरकारीले निर्वाह नभए पनि आफैँले फलाएर खाँदा त्यसको महत्व विशेष हुने उनले बताए। सबै सामग्री जुटाएर रोप्दादेखि फलाउँदासम्म किन्न बराबर लागे पनि आफैंले फलाएर खाँदा छुट्टै मज्जा आउने र बिनाविषादी फलाउने भएकाले स्वास्थ्यका लागि पनि राम्रो हुने उनले बताए। उनले भने, ‘आफ्नो मेहनत परेपछि त्यो पक्कै मिठो हुन्छ, कौसीमा फलेका तरकारी लिँदा त्यस्तै आनन्द हुन्छ।’
बन्दाबन्दीको समयमा ललितपुर महानगरपालिकाले वडा कार्यालयहरुले मल र तरकारीको बीउ वितरण गरिरहेका छन्। महानगरले चक्रपथभित्रका वडामा कौसीमा रोप्न सकिने तरकारीका बीउ वितरण गरिरहेको हो। बन्दाबन्दीकै समयमा गुठीलगायतका संस्थाले पनि शहरी क्षेत्रका बासिन्दालाई तरकारीखेती, फूलखेती, प्राङ्गारिक मल बनाउने तरिकाका बारेमा सिकाएको छ। यो समयमा तरकारी बाहिरबाट आउने, नआउने टुङ्गो नहुने, बजारमा किनेर ल्याउँदा पनि सङ्क्रमणको जोखिमलगायतका कारणले पनि उपत्यकावासीमा एक दुई छाक भए पनि आफैँ फलाउनुपर्छ भन्ने आएको हो। पहिले भित्री भागमा मात्रै जग्गाको अभाव थियो। अहिले नया बनेका नगरपालिकामा समेत थोरै जग्गामा घर बनिरहेकाले तरकारी फलाउने करेसाबारी कम हुँदै गएको छ। यस क्षेत्रमा पनि विस्तारै स्थानीयवासी तरकारीखेतीमा आकर्षित भइरहेका छन्।
शहरी क्षेत्रको खानेपानी र सरसफाइका क्षेत्रमा काम गरिरहेको गुठी संस्थाका संयोजक प्रकाश अमात्यले बन्दाबन्दीले धेरैलाई कौसीखेतीप्रति आकर्षित गरिरहेको बताए। कौसीखेतीले एकातिर रोप्ने व्यक्ति र उसको परिवारले ताजा तरकारी खान पाउने र अर्कातर्फ फोहर व्यवस्थापनमा नगरपालिकालाई सहज हुने बताए। कौसीखेतीमा घरबाट निस्किने फोहर कम्पोष्ट मलका रुपमा प्रयोगमा आउँछ। उपत्यकामा जम्मा फोहरमध्ये ४० प्रतिशत त कुहिने खालको फोहर नै हुने भएकाले घरधनी सबैले कौसीखेती गर्दा त्यो फोहर मलका रुपमा प्रयोग हुने र घरबाट बाहिर निस्कन नपाउने उनले बताए। चालीस प्रतिशत कुहिने फोहर घरमै तरकारीमा प्रयोग हुने र ३० प्रतिशत कवाडीमा पठाउँदा आधाभन्दा बढी फोहर कम हुने उहाँको तर्क छ। उनले भने, ‘यसले गर्दा हाम्रो ल्याण्डफिल साइट लामो समयसम्म प्रयोग गर्न सकिन्छ।’
गुठीले बन्दाबन्दीपछि झण्डै १५० लाई प्रत्यक्षरुपमा तालिम दिएको थियो। सो भिडियो अरु धेरैले हेरिरहेको उनले बताए। संस्थाले केही वर्ष पहिलेदेखि टोलटोलमा महिला समूहमार्फत कौसीखेतीको तालिम सञ्चालन गर्दै आएको थियो। अहिले बन्दाबन्दीको समय भएकाले इन्टरनेटको प्रयोगमार्फत ‘जुम’ प्रविधिमर्फत तालिम सञ्चालन भएको संयोजक अमात्यले बताउनुभयो। बन्दाबन्दीले कौसीखेतीलाई व्यापक बनाउन सहयोग पुगेको उनको भनाइ छ। पहिले पहिले घरमै बस्ने गृहिणी कौसीखेतीमा सहभागी भए पनि अहिले जागिरे वा व्यापारलगायतका कामका लागि सामान्य अवस्थामा घर बाहिर हुनेहरु पनि यसमा सहभागी भइरहेका छन्। बन्दाबन्दीकै बीचमा कतिपयले आफूले फलाएको तरकारी खान थालेको पनि फोटो शेयर गरिरहेको उनले बताए। अहिले समय समयमा वर्षा भइरहेकाले पनि पानीको समस्या छैन। घरमा रोपेको तरकारी घरकै फोहरबाट कम्पोष्ट मल हाल्दा खानका लागि स्वस्थ हुने उनले बताए। घरमै फलाएका तरकारी खान स्वस्थ र थोरै भए पनि तरकारी किन्न खर्च बचाउनेछ। यसलाई निरन्तरता र व्यापक बनाउन सके तरकारीमा आत्मनिर्भर हुने उनको भनाइ छ। उनले भने, ‘सबै तहको सरकारले यसलाई कसरी प्रोत्साहन गर्ने भन्ने सोच्नुपर्छ, यसबारेमा सरकारले नीति नै बनाएर कार्यान्वयनमा ल्याए अझै राम्रो हुनेछ।’
सरकारको नीति तथा कार्यक्रममा समेटिएको कौसीखेतीको विषयलाई सरकारले बजेटमार्फत पनि समेट्नुपर्ने यस क्षेत्रमा कार्यरत व्यक्तिहरु बताउँछन्। बन्दाबन्दीका समयमा आवश्यक सामग्री, बीउ र मलको आपूर्ति सहज नभएकाले यसलाई सहज बनाउनुपर्ने खाँचो छ। स्थानीयस्तरमा काम गर्न स्थानीय सरकारले वडा कार्यालयमार्फत कौसीखेती विस्तारका लागि योजना बनाउनुपर्ने स्थानीयवासी बताउँछन्। यस खेतीमा लागेका सबै व्यक्तिको भनाइ छ, अब खेतबारीमात्र होइन कौसी पनि बाँझो राख्नुहुँदैन।