अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा ठूलो संख्यामा सैनिक तैनाथ गर्ने घोषणा गरेका छन्।
अमेरिकी पूर्वी समयअनुसार सोमबार साँझ ६ बजे ह्वाइट हाउसको रोज गार्डेनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
अमेरिकाको राजधानी सहर वासिङ्टन डीसीमा स्थानीय मेयले साँंझ ७ बजेदेखि कर्फ्यु जारी गरेका छन्। कर्फ्यूको समय सुरू हुन लाग्दा पनि ह्वाइट हाउससँगैको लाफायट पार्कमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन्। जर्ज फ्लोइडमाथि न्याय गरियोस् भन्नै माग गर्दै प्रदर्शनमा सहभागीलाई तितरबितर बनाउन केही समय पहिले अश्रु ग्यास प्रहार गरिएको थियो ।
राष्ट्रपति ट्रम्पले हातमा बाइबल लिएर आफूलाई 'योर प्रेसिडेन्ट अफ ल एण्ड अर्डर' घोषणा गरेका थिए। उनले आफूले अमेरिका र अमेरिकी जनताको सुरक्षा गर्ने सपथ लिएको बताउँदै त्यसका लागि आफू प्रतिवद्ध भएको बताए।
उनले राज्य सरकार र स्थानीय सरकारलाई कमजोर भन्दै उनीहरूलाई नेशनल गार्ड तैनाथ गर्न मार्गप्रशस्त गर्न आग्रह गर्दै भने, ' यदि उनीहरूले तैनाथ गर्न मानेनन् भने पनि राष्ट्रपतिका हैसियतले लागु गरेरै छोड्ने छु।'
अमेरिकामा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर राष्ट्रपतिले कस्तो सम्बोधन गर्ने भन्ने बारेमा ह्वाइट हाउसमा एक मत थिएन। केहीले कडाइका साथ जानुपर्ने सल्लाह दिइरहेका थिए भने केहीले संयमता अपनाउनुपर्ने धारणा राखेका थिए। तर, अन्तमा राष्ट्रपतिले कडाइका साथ जाने निर्णय गरे।
राष्ट्रपति ट्रम्पको सम्बोधनलाई लिएर अमेरिकामा विभाजित मत देखिएको छ। केहीले उनको पेलेरै जाने नीतिको समर्थन गरेका छन् भने केहीले अमेरिकालाई सैनिकीकरण नसुहाउने बताएका छन्।
राष्ट्रपतिले जे भने पनि अमेरिकामा हिंसात्मक प्रदर्शन थामिने संकेत देखिएको छैन।