प्रधानमन्त्री ओली र इजरायली समकक्षी नेतान्याहुबीच फोनवार्ता

नेपाल र इजरायलबीच कूटनीटिक सम्बन्ध कायम भएको ६० औँ वर्षगाँठका अवसरमा सोमबार प्रधानमन्त्री के पी शर्मा ओली र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिफोन मार्फत एक आपसमा खुशी एवं शुभेच्छा साटासाट गरेका छन्।

दुबै प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गरे र यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमति जनाए।

द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा दुबै मुलुकको बढ्दो सहभागिता, जनस्तरमा कायम सम्बन्ध र आपसी सहयोगका विषयमा दुबै नेताले उच्च मूल्याँकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान गरी द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न पनि दुबै नेता सहमत भएका छन्।

इजरायलले थुप्रै क्षेत्रमा अग्रता हासिल गरेको उच्चकोटिको प्रविधिबारे दुबै नेताले छलफल गरे। प्रधानमन्त्री ओलीले नेपालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने आवश्यकतामा पनि जोड दिएका थिए। उनले दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा इजरायलमा रहेका नेपाली नागरिकको हेरचाहमा इजरायली सरकारले देखाएको तदारुकताको प्रशंसा पनि गरे।

उनीहरूबीच कोभिड १९ को महामारी र यसले सर्वसाधारण जनताको आर्थिक–सामाजिक जीवनमा पारेका असरहरुबारे पनि वार्ता भएको थियो। 

कोरोना विषाणुलाई नियन्त्रणमा लिन र जनसाधारणको जीवन रक्षा गर्न नेपालले अपनाएका उपायहरुबारे प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई जानकारी दिएका थिए भने कोरोना विषाणुको फैलावट रोक्न इजरायलले उठाएका कदमहरुको प्रशंसा पनि गरेका थिए।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार आजै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र इजरायली विदेश मन्त्री गाबी आस्केनाजीले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए। एक अर्कालाई पठाएको सन्देशमा दुबै मन्त्रीले नेपाल र इजरायलबीच विगत ६० वर्षदेखि रहिआएको सुखद् सम्बन्धप्रति खुशी व्यक्त गर्दै वाणिज्य, मानव संसाधन, कृषि जस्ता सहयोगका सम्भावित क्षेत्रहरुमा आगामी दिन सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रकाशित मिति: : 2020-06-01 23:36:54

प्रतिकृया दिनुहोस्