हामी जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँछौं। वैधानिक रूपमा २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो। तर, भावनात्मक रूपमा मेरो लागि २०५८ जेठ १९ को रात नै राजतन्त्र सक्किएको थियो।
त्यो कालरात्रि हामी नेपालीहरूका लागि सधैं दुर्भाग्यपूर्ण र दु:खद स्मरण भएर रहेको छ, रहने छ।
त्यस बेला दिवंगत हुनेमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन लगायत वीरेन्द्रका दिदीहरू शान्ति सिंह र शारदा शाह, भिनाजु कुमार खड्गविक्रम शाह लगायत दस जना शाही परिवार र नातेदार थिए। दिपेन्द्रले सनकमा पारिवारिक जमघटबीच गोली चलाएर त्यो बितण्ड मच्चाएको मानिन्छ।
अहिलेजस्तो सामाजिक सञ्जाल र इन्टरनेटको बिगबिगी थिएन। मोबाइल फोनको पहुँच पनि सीमित रहेका बेला मेरो घरमा मध्यराततिर फोन बज्यो। दरबार हत्याकाण्डबारे सुनेर म अचम्म र स्तब्ध भएँ।