शंका नगर्नुस्, रुकुम घटनाका दाेषीलाई कानुनी कठघारामा ल्याउँछु: गृहमन्त्री थापा

बिएल संवाददाता

काठमाडाै‌ं

गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन्।

आइतबार रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै गृहमन्त्रालयमा पुगेका  सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलहरु माफत् ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाहि गर्न मन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे। 

उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगेर छानबिन सुरु गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे।   

उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्नेगरि काम गर्न सचेत गराईएको समेत जानकारी दिए। उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको  समेत खोजिकार्य जारी रहेको बताए। सो घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र  केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को समेत छुट्टै टिम छानबिनका लागि पठाउनेकि भन्नेबारे  छलफल भईरहेको  प्रतिनिधि मण्डललाई जानकारी गराए। 

घटनाका सम्बन्धमा हिजो बसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पष्ट पारे। उनले जातिय उत्पिडनको अन्त्यका लागि आआफ्नो ठाउँबाट  भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यहरुलाई  समेत आग्रह गरे।

प्रकाशित मिति: : 2020-05-31 17:48:16

प्रतिकृया दिनुहोस्