व्यक्ति होस् वा समुदाय, जीवनमा दुःख वा दुखान्त आइलाग्दा इतिहासमा गरिएको लगानी सम्झिँदो रहेछ । र ऊ लगानीको फल सुखद् भयो कि दुःखद् भनी हिसाब गर्दो रहेछ । जाजरकोटे भाइ नवराज विक जब मारिए, गीता रसाइलीले इतिहास सम्झेर हिसाब गरिन् । हिसाबको वीभत्स फल भाइको नृशंश हत्या हात लाग्यो, र क्षुव्ध गीता आत्मग्लानिले विव्हल भइन् ।
इतिहासमा दलितमुक्तिका गर्जन थुप्रो गरिए । जनआन्दोलन, जनयुद्ध वा आम चुनावमा दलितको उत्थानका बाचा अनेक गरिए । दलित–पीडकलाई दण्डित गर्ने कानुन पटकपटक बने । तर यी सबै गर्जन, बाचा र कानुन मानौँ कुकुरको पुच्छरमा अड्किए । पाजी पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हाल्यो, बाङ्गाको बाङ्गै ! नवराजको जघन्य हत्याले हामीलाई आखिर यसै त भनिरहेछ ।