नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ यति बेला कास्की र स्याङ्जाको सीमावर्ती भेगमा पर्ने आफ्नो गोठमा छन्। मकैबारीमा रमाइरहेका अमृतका फोटा देखेपछि निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेलाई गाउँ जान नपाउँदाको छट्पटी बढ्यो।
खगेन्द्रले स्याङ्जाकै आफ्नै गाउँ सम्झिए। सुन्तला बारी सम्झिए। आफन्तहरू सम्झिए।
अनि ट्विटरमा लेखे– अमृत दाइले मकै गोडिरहेको तस्वीर देख्दा मैले पनि झल्झली सुन्तला बारी सम्झिएँ। ती बोटहरू कुरा गर्दै होलान्, 'धेरै भयो आएको छैन। माया मार्यो कि क्या हो खगेन्द्रले?' ढुक्क भएर बस प्यारा बोटहरू, म छिट्टै आउनेछु।'
सुन्तलासँगको लगावबारे बताउँदै उनले सेतोपाटीसँग भने, 'हाम्रो घरमा ठूलो सुन्तला खेती छ। करिब सय वटा बोट छन्। मलाई आफ्नो गाउँको खेतबारी र बोटबिरूवाको चिन्ता भइरहन्छ। काठमाडौंमा बसेर पनि खेतबारीको खबर राखिरहन्छु। अहिले असिनाले गर्दा खेती राम्रो भएको छैन भन्दै हुनुहुन्थ्यो बुबा। बारीतिर काँक्रो र करेला भने प्रशस्त फलेको छ।'