छ महिनाअघि चीनबाट कोरोना शुरू हुँदा मानवताको नाताले जागेको समवेदना त थियो नै, तर आफूतिर सोझिएको चिन्ता थिएन । चीनमा हायलकायल जारी राख्दै र अन्य छिटफुट देशमा आफ्नो शक्ति देखाउँदै कोरोना एकाएक युरोप, अमेरिका हानियो । उच्चस्तरीय स्वास्थ्य सुविधासहित विकास र समृद्धिको चरम स्वाद चाखिरहेका युरोपेलीको जनजीवनसमेत तहसनहस पार्न उसलाई धेरै समय लागेन । तीव्र रूपमा फैलिएको संक्रमणसंगै ज्यान गुमाउनेको सख्या बढिरह्यो । उच्च गतिको संक्रमण र सोही अनुपातको मृत्युश्रृङ्खला हृदयविदारक बन्यो । अन्त्येष्टिका लागि ठाउँ अभावका खबरसहित यत्रतत्र छरिएका शवका थुप्राले विश्वलाई नै भयभित बनायो ।
छिमेकी मुलुक भारतमा यसको प्रहार शुरूभएपछि सशंकित मनोविज्ञान झनै चुलियो । कोरोना उत्पत्ति हुने चीन पनि छिमेकी मुलुक । तर बन्द सिमानाका कारण खासै चिन्ता जागेको थिएन । चीनबाट बाहिरिएसँगै धेरै ध्वंस मच्चाइसकेको भाइरस खुला सिमानाको अर्को छिमेकी देश छिरेपछि डर बढ्नु स्वभाविकै थियो । सरकारले भारतलगत्तै नेपालमा पनि लकडाउन घोषणा ग¥यो । पश्चिमी मुलुकमा जारी कोरोना बबण्डरले सजगताको पाठ यथेष्ट सिकाइसकेको थियो । मुलुकभित्र लकडाउन शुरू भएपछि सजगतामा केही भय पनि मिसियो । जिन्दगीमा पहिलो पटक खेपिदै थियो लकडाउन, त्यो पनि विश्वलाई आक्रान्त पारिरहेको भाइरसबाट बच्न ।
चीनले शुरू गरेको लकडाउन र यसबाट मिलेको सफलता अन्य मुलुकले पनि अनुसरण गरिरहेकै थिए । यसर्थ, लकडाउन नौलो र अविश्वसनीय त थिएन । तर आफ्नै मुलुकमा लकडाउन जारी भएपछि यसप्रति विश्वास र अविश्वासको तरंग अलि बाक्लै चलिरह्यो । त्यस्तो शक्तिशाली र विध्वंसकारी अदृश्य भाइरसबाट मुलुकलाई के लकडाउनले साँच्चै सुरक्षा दिन सक्ला त ?