प्रभात कर्ण
आजभोलि मेरो घरअगाडि शून्यता छाएको छ । वीरगन्ज छपकैया–३ मा पर्छ मेरो घर । अचेल छरछिमेक पनि मेरो परिवारसँग बोल्न छाडेका छन् । किनकि मलाई कोराना लागेको थियो।
मैले काम गर्दै आएको कपडा कारखाना लकडाउनसँगै बन्द भएकाले मेरा दिनहरु घरमै बसेर बित्ने गर्थ्यो, घरकै काम गरेर । वीरगन्जमा कोरोना देखिएपछि वैशाख २६ गते कोरोना परीक्षणका लागि छप्कैया–३ मा शिविर सञ्चालन गरियो । मलाई कोरोनाको कुनै लक्षण त देखिएको थिएन, तर आत्मसन्तुष्टिका लागि आफैँ परीक्षणका लागि गएँ।
२६ गते गरिएको परीक्षणको रिपोर्ट ३० गते आयो । दिउँसोको करिब ३ बजेको थियो । म सधैँझैँ घरकै काममा व्यस्त थिएँ । मेरो मोबाइलमा वडा कार्यालयबाट फोन आयो, ‘तपाईंको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । नारायणी अस्पतालमा लैजानका लागि एम्बुलेन्स पठाएका छौँ।’
एकैछिन म आफैँ अचम्ममा परेँ । मेरो मनमा अनेकौँ कुरा खेल्न थाले । घरबाहिर कतै गएको थिइनँ, कोरोना संक्रमण ! एकैछिन त सरकारले गरेको परीक्षणमा शंका लाग्यो।