हङकङ अब सहयोगको योग्य रहेन: पोम्पेओ

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले हङकङ अब विशेष व्यवहार वा सहयोगको योग्य नरहेको बताएका छन्।

अमेरिकाले हङकङमाथि कायम राख्दै आएको विशेष व्यवहार अब कानून अनुसार उपयुक्त नरहेको कंग्रेसमा उनले बताएका हुन्।

‘सुरक्षा सम्बन्धी नयाँ कानून हङकङको स्वयत्तता र स्वतन्त्रता आधारभूत रुपमै कुण्ठित पार्ने शृङ्खलाबद्ध अभियानको पछिल्लो कडी मात्रै हो। अब यो स्पष्ट भएको छ कि चीनले हङकङलाई पूर्ण रुपमा नियन्त्रणमा राख्न चाहन्छ,’विदेश मन्त्री पोम्पेओले भनेका छन्.

अमेरिकाले आफ्नो कानून अनुसार हङकङलाई वित्तिय तथा व्यापरको ग्लोबल हबको विशेष दर्जा प्रदान गरेको छ। अमेरिकाले यस्तो घोषणा गरेमा हकङकङले पाउँदै आएको विश्वको व्यापारिक केन्द्रको पहिचानमा धक्का लाग्ने छ। यस्तै चीन पनि रुष्ट हुन सक्ने छ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ। चीनको हिस्सा भएर पनि हङकङ अलग छ।

तर सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङमा प्रदर्शन हुँदै आएको छ। त्यसक्रममा प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।।

चीनले गएको हप्ता घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङका प्रजातन्त्र पक्षधरहरु आन्दोलनमा उत्रिएका छन्।

प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका छन्। यस्तै सो कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको प्रदर्शनकारीको भनाई छ।

अमेरिकाले याे आन्दाेलनलाई समर्थन गर्दै आएकाे छ।

प्रकाशित मिति: : 2020-05-28 08:15:16

प्रतिकृया दिनुहोस्