संविधान संशोधन सम्बन्धी विधेयक आज संसदमा पेश नहुने

बिएल संवाददाता

काठमाडाै‌ं

संविधान संशोधन सम्बन्धी विधेयक बुधबार संसदमा पेश नहुने भएको छ। संसद सचिवालयले नेपालको संविधान (दोस्रो संशोधन), २०७७ सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि मंगलबार सार्वजनिक भएको थियो।

सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको हो।

तर मंगलबारको सर्वदलीय बैठकमा कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफलका लागि थप समय मागेको तथा मधेस केन्द्रित दलहरुले पनि प्याकेजमै सहमति हुनु पर्ने अडान लिएका कारण सरकार रोकिएको हो।

सचिवालले सरकारको आग्रहमा कार्यसूचिबाट हटाएको जनाएको छ।  ‘सम्भावित कार्यासूचिमा प्रस्ताव थियो। तर सरकारको आग्रहमा बुधबारको कार्यसूचिबाट हटाइएको हो,’प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भने।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो। यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो।

तर लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो। संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो।

त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो। त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।

सत्तारुढ नेकपासँग संविधान संशोधनका लागि चाहिने दुई तिहाई भन्दा केही कम सांसद छन्। नेपाली कांग्रेस र मधेस केन्द्रित दललाई सहमतिमा लिनका लागि समय लाग्ने देखेकाले सरकार तत्कालका लागि पछि हटेको हो।

प्रकाशित मिति: : 2020-05-27 13:12:28

प्रतिकृया दिनुहोस्