भारतका विभिन्न क्वारेन्टाइनमा बसेका सयौं नेपाली वीरगन्ज नाका हुँदै नेपाल भित्रिए

भारतको विभिन्न शहर तथा क्वारेन्टाइनमा बसेका सयौं नेपाली नागरिकलाई बुधबार रक्सौल वीरगन्ज नाका हुँदै नेपाल भित्र्याइएको छ।

विगत एक महिनादेखि रक्सौलको हजारीमल क्वारेन्टाइन तथा वैष्णो देवी दर्शनको क्रममा भारतको जम्मूकश्मीर, कटरा क्वारेन्टाइनमा बसेका सयौंको संख्याका नेपालीलाई बुधबार बिहान ८ बजे चेकजाँच गरी नेपाल प्रवेश गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘बारा, पर्सा, रूकुमलगायत करिब २५ जिल्लाका नेपालीहरू सीमा क्षेत्रमा आएर अलपत्र परेपछि दुवै देशका सुरक्षा निकायबिच मंगलबार भएको सहमति अनुसार बुधबार बिहान नेपाल प्रवेश गराइएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

वीरगंजको मुख्य नाका हुदै नेपाल प्रवेश गर्नेमा रक्सौल क्वारेन्टाइनमा रहेका २ सय २२ जना, वैष्णो देवी दर्शनको क्रममा भारतको जम्मूकश्मीर, कटरा क्वारेन्टाइनमा परेका ११ जना नेपालीको टोली र  रोजगारीका लागि भारतको मुम्बई, सुरत, दिल्लीलगायत अन्य शहरबाट बिभिन्न सवारी साधन तथा पैदल मार्गहुँदै करीब ५ दिन पहिले रक्सौल नाका आइपुगेका सयौंको संख्यामा रहेका नेपाली नागरिकलाई बुधबार नेपाल भित्र्याइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

‘आज बिहान ८ बजे देखि उच्च सतर्कताका साथ प्रत्येक नेपालीको प्रारम्भीक स्वास्य परीक्षण गरेर नेपाल प्रवेश गर्न दिएका छौ’, उनले बिएल नेपाली सेवासँग भनिन्, ‘नजिकमा घर भएका नेपालीलाई सम्बन्धित जिल्लाको प्रशासनलाई जिम्मा लगाउँदै छौ र टाढाका जिल्लामा घर भएका नेपालीलाई  वीरगन्जकै क्वारेन्टाइनमा बस्ने व्यव्था मिलाएका छौ।’

 यसै बिच रक्सौल नाकामा अलपत्र परेकामध्ये मंगलबार २४ जना महिला तथा बालबालिकालाई मात्र भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न दिएका थिए।

यस्तै लामो समयसम्म नेपालमा काम गर्दै बसेका ४ सय भन्दा बढी भारतीय नागरिकहरू वीरगंजको आईसिपी भन्सार नाकामा अलपत्र परेपछि मंगलबार भारत सरकारलाई जिम्मा लगाईएको छ।

प्रकाशित मिति: : 2020-05-27 10:29:59

प्रतिकृया दिनुहोस्