रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ५० जना भित्रिएका छन् । ३ जेठयता करिब साढे ११ हजार नेपाली फर्किएको उनले बताए ।
नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडिटी किट र जनशक्ति अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौँ,’ उनले भने ।