लकडाउनको विरोधमा स्पेनमा हजारौँले गरे प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको छ।

विपक्षी भक्स पार्टीले देशका प्रमुख शहरहरुमा सामाजिक दूरी कायम गरी प्रदर्शनमा सहभागी हुन आफ्ना समर्थकलाई आह्वान गरेको थियो। आह्वानस्वरुप हजारौँ मानिसले सरकार विरोधी प्रदर्शनमा भाग लिएका थिए। 

प्रदर्शनकारीहरुले राजधानी मड्रिडमा कार तथा आफ्ना सवारी साधानमा राष्ट्रिय झण्डा राखेर प्रदर्शन गरे। उनीहरुले समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामा मागेका छन्।

स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि गएको मार्च १४ देखि युरोपकै कडा लकडाउन लागु भएको थियो। पछिल्ला हप्तामा लकडाउन केही खुकुलो बनाउन थालिएको छ।

तर अझै पनि मड्रिड र बार्सिलोनामा कडा लकडाउन कायम छ। तर दुवै शहरमा सोमबारदेखि केही खुकुलो बनाइने छ। अधिकतम १० जनासम्म जम्मा हुन छुट दिने तयारी छ। तर ती शहरमा अझै पनि कोरोना भाइरसको महामारी गम्भीर अवस्थामा छ।

स्पेनमा दुई महिनाको लकडाउनमा होटल, बार तथा रेस्टुरेन्ट बन्द भएका छन्। यस्तै समुद्री किनारहरु पनि बन्द भए भने घर बाहिर हुने गतिविधिमा प्रतिबन्ध लागेकाे छ । यसबाट महामारी नियन्त्रणमा सहयोग हुने सरकारले बताएको थियो र संक्रमणदर कम हुन पनि थालेकाे छ।

तर शनिबार प्रदर्शनमा उत्रिएका फार–राइट पार्टी भक्सका समर्थकले अब लकडाउन पूर्ण रुपमा हटाइनु पर्ने माग गरेका छन्। लकडाउनका कारण मानिसको रोजगारी तथा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै उनीहरुले लकडाउन खुलाउन माग गरेका हुन्।
 

प्रकाशित मिति: : 2020-05-24 09:14:43

प्रतिकृया दिनुहोस्