महान मानिस : कसरी बन्ने ? कसरी चिन्ने ?

लोकान्तर

काठमाडौँ

गोपीनाथ मैनाली

चाहेर मात्र महान बन्न सकिँदैन । महान बन्ने सिद्धान्त र सूत्र आविष्कार पनि भएको छैन तर पनि मानिस महान बन्छ ।

मानिसहरू महान बन्न खोज्छन् तर महान बनाइन्न, आफैं बन्छ । चाहेर होइन, कार्यले महान बन्छ । न अरु कसैले कोहीलाई चाहेरै महान बनाउन सक्छ ।

महान कस्तो हुन्छ ? उसका विशेषता र कार्यहरू के कस्ता हुन्छन् ? चासोको विषय हो तर असल व्यक्तिले गरिसकेका काम र त्यसले छाडेका छापका आधारमा मात्र महान मानिस यस्तो हो वा यस्ता गुणहरू हुन्छन् भन्ने आकलन गर्न सकिन्छ । 

महानहरू विवेकशील हुन्छन् । अरुको दुःख, पीडा र अनुभूतिलाई आफ्नो बनाउने सामथ्र्यले कसैलाई महान बनाउँछ । अरुको दुःख–पीडा आफ्ना अनुभूतिमा लिने, अन्तरबोध गर्ने स्वभाव र सामथ्र्य महानमा हुन्छ । विवेकी मानिस सामान्य शब्दबाट पनि अरुमा आघात पुग्ला कि भन्ने सोच विचारमा हुन्छन् । अरुलाई आघात पुर्‍याउनु हिंसा सम्झिन्छन् । कम बोल्छन्, धेरै गर्छन् । जति गर्छन्, ठीक गर्छन् । त्यसैले महान सधै विवेकी हुन्छ । हरेक काम कुरा गर्नुअघि मनको हरि वा विवेकको अनुमति लिन्छ । हौसिँदैन, हतारिँदैन, मात्तिदैन, आत्तिदैन । आत्मनादको झंकारले रमाउँछ । उसका लागि सत्कर्म मनोरञ्जन हो । केही राम्रा काम गर्न पाउँदा उ सधै रमाउने गर्छ र आनन्दको स्वास फेर्छ ।

प्रकाशित मिति: : 2020-05-24 07:59:52

प्रतिकृया दिनुहोस्