‘हजुरको उमेर कति भो नि? अनि... हजुर अविवाहित हो? आजसम्म कसैसँग प्रेम भएको थिएन? मलाई हजुरको कहानी पूरा सुन्ने मन छ। कृपया! सुनाउँन सक्नुहुन्छ?,’ (आठ साताअघि फेसबुकमा परिचय भएकी म्यान्मारको टमू नगरमा बस्ने निलिमाले निकै चासो लिँदै सोधि)।
खै… कहाँबाट सुरू गरौँ भन्दै थिएँ। उही पुरानो गीत सम्झिन पुगेछु, ‘मायाको बन्धन कहाँ गई अल्झिने हो...’ (सम्हालेर तानन..., समालेर तानन...!) त्यतिबेला निलकमल दाइको यो गीतले मेरो मुटुका कुनाकानी राज गर्दैहुँदो हो। प्रेमका गीतले साँच्चै काउकुति लगाउन थालेको थियो। सम्झन्छु म भर्खर १६ वर्षको हुँदो हुँ। बैँसको खुट्किलो टेक्दै माथि माथि उड्न लागेको थिएँ। भावनामा निकै पौडिन लागेको थिएँ।
त्यतिबेला ढुकढुकी तिब्र गतिमा चल्थ्यो। मानौं संसारको कुनै थ्यौरीमा नअटाउने गरि। बाल्यकालले थाहै नपाई कलिलैमा विदा लिएछ। ‘बैंसमा स्याल पनि घोर्ले’ भने झैं लक्का जवान म राम्रो देखिनु स्वभाविकै हो। त्यतिखेर हरेक ठिटी म तिर आँखा विछ्याउँथे। म भने छड्के हेरेर केटीका हाउभाउ पढ्थेँ। अनि त्यसैमा आफ्नो मूल्य थाहा पाउँथेँ।
कुनै केटीलाई नियालेर भने हेरेकै थिइनँ। यत्तिकैमा संयोगले भेटिन पुगी… जूनु। आहा... कति सुन्दर नाम। कहीँ कतै नसुनेको र अर्थ पनि थाहा नभएको! नाम भन्दा अझै सुन्दर थियो उसको मुहार। झरनाको टक जत्तिकै सेती। ठूला र गोला आँखा, घुमेका परेला, न होची न अग्ली। कुनै नायिका भन्दा कम थिइन जूनु।
उसका परिवार बागीको डरले घर जग्गा सबै छोडेर तालुजीबाट बसाइँ आएका रहेछन्। मखान्ती गाउँमा सरूवा भएर आएकी ऊ र म कक्षामा सँगै थियौं। त्यतिबेला उसको सुन्दरताले कसलाई लोभ्याउँदैन थियो होला र?
विद्यालय छुट्टि हुँदा म जस्ता अनेक ठिटाहरू उसका पछि लाग्थे। म भने भित्रभित्रै ‘जूनु मेरी हो’ भन्ने अठोट लिइसकेको थिएँ। उसका पछि लाग्ने ठिटासँग जहिल्यै सिङ्गौरि खेलिरहन्थेँ। महानायकको चाल चलेर आखिर उसलाई जितिछाडेँ। त्यसपछि हाम्रो कलिलो छातिभित्र प्रेम फष्टाउँदै गएको थियो। प्रेम बाहेक अरू के नै थाहा थियो र हामीलाई? त्यसैले जिन्दगीको भूमिका बाँध्न भने सुरूवात नै थिएन। ‘अनि के भयो आगे...?’ निलिमाले अझै चासो लिएर प्रश्न तेर्छ्याउँछे।
हाम्रा प्रेमका दिन बिस्तारै सुरू भए। लाग्थ्यो त्यतिबेला- हाम्रो जस्तो जोडी संसारैमा छैन। जुनुको मुस्कान म प्रति जति उघ्रिँदै गयो, उतिनै म पनि उसको प्रेमको दास हुन पुगेँ। विद्यालयमा गुरूले खै! के पढाउँथे कुन्नि? हामी दुई आँखा जुदाएर हाम्रै प्रेमको भाषा पढ्थ्यौं। विद्यालय छुट्टि भएर आ-आफ्नो घर लागे पनि जतिखेरै उसलाई सम्झिरहन्थेँ।
हुँदाहुँदै सम्झनामा, कल्पनामा उसैसँग कुरा गर्न थालेको थिएँ। प्रेमको सुरुवात कति अनौठो हुन्छ ह कि! चारैतिर हरियाली। मन जतिखेरै फुरूङ्ग। आहा...! कस्ता रमणीय दिनहरू। कहिल्यै चाहेर पनि भुल्न नसकिने थिए ती दिन ती बार। अचानक हाम्रा प्रेमिल यात्रामा कसैले तगारो हालिदियो। हाम्रा रसिला प्रेम गाथालाई कुहिरोले ढाक्न पुग्यो। कुहिरोबाट ओल्सिएपछि त सबै भताभुङ्ग भयो।
उफ्… ‘भयो होला सुनेर के गर्छौ?’ म रोकिएँ। उसले फेरि भनी ‘आजलाई गाह्रो भए भोलि सुनौंला। हवस् त विदा लिनुपर्यो,’ ऊ नेटबाट विदा भई। भोलिपल्ट फेरि उसै समयमा ‘हेलो भट्टराईजी..! हिजोको कहानी फेरि गाँस्नु न! ‘त्यसपछि के भयो?’ म पनि आज्ञाकारी छात्र जस्तै सबै कुरा सुनाउन लागेँ। १५/१६ वर्षे हामी ठिटाठिटी अरूले बनाएको जालभित्र सजिलै पर्यौं। वास्तवमा हामी दुवै परिवारका लागि विवाह योग्य थिएनौं। उमेर पनि काँचो। हैसियत पनि नमिल्ने त्यसैले हाम्रा बीचमा तगारो लगाइदिएका रहेछन्। काँचो उमेरको मान्छेलाई षड्यन्त्रको तुँवालो हटाउन धेरै गाह्रो भयो। मेरी जुनुलाई मबाट कोसौं टाढा बनाइदिए मान्छेले। म धेरै वर्षसम्म बगरको माछा झैँ छट्पटीमा बाँच्नु पर्यो। उता ऊ कसरी बँचेकी थिई थाहा छैन। ५ वर्ष पछि जब हाम्रो सम्पर्क भयो, तब ऊ अर्कैकी भइसकेकी थिई। उसलाई अर्काको साथमा देख्दा मेरा हातगोडा लगलग काँपेको अहिले जस्तै लाग्छ...। त्यसपछि ऊ कहिल्यै देखा परिनँ। तर... बाहिर नदेखिएर के भयो र मुटुमा अमीट चित्र कोरिएपछि...। उसकै सम्झनामा दिनहरु पल्टाइरखेको छु।
‘अब पनि ऊ आउँछे जस्तै लाग्छ र…? उसको विहे भएकै १६ साल भो भन्नुहुन्छ! यतिखेर उसले उसकै खसमको, परिवारको र हजुरको एकतर्फी मायाले दिनचर्या सजिलो कटाएकी छ। वास्तवमा भरपुर माया पाएर डकारिरहेकी होली। अब हजुरले पनि आफ्ना लागि सोच्नुपर्यो जस्तो लाग्दैन?’ कुरै नबुझी बिचमा प्वाक्क बोले झैँ लाग्यो निलिमाको यो कुरा। जवाफ नदिई चुप लागेँ।
फेरि सोध्दै गई ‘ऊ मरेर गएकी भए ठिकै थियो। अहिले त अर्काकी भइसकेकी छ। त्यसरी सम्झनु ठिक होला र? त्यसपछि के भयो त?,’ मलाई लाग्छ, उसको सम्झनामा बाँच्नु पनि एउटा मायाको दृष्टान्त न हो। जो अरूलाई काम नलागे पनि म स्वयंलाई लागिरहनेछ। सँगसँगै मिलेर जिन्दगीको गोरेटोलाई आफ्ना कलाले सिंगारौला। सँगै बाँचेर सँगै मरौँला। यस्ता सबै कुरा आगलागिमा परेको वस्तु झैँ खरानी भइहाले। केही बाँकी रहेन। अचेल मलाई लाग्छ, कि! मरेँ भने यो मीठो तड्पाहटबाट पनि छुट्कारा मिल्छ। मलाई त्यसो हुनु छैन।
यी दिनहरु बाँचुन्जेल उसैका सम्झनाका प्रतीक बन्नेछन्। यही सोचेर बाँचेको छु। साथीहरूले जे भयो, भयो अब बिहे गर्नुपर्छ भन्दै आश्वाशन दिने गर्छन्। केटी पनि एकपछि एक देखाउँछन्। मलाई भने कसैसँग नाता गाँस्ने मन छैन। ‘बा आमालाई कत्तिको माया गर्नु हुन्छ त हजुरले?’ जन्मदेखि मृत्युसम्म हजुरको भलाइ मात्र चिताउने आमाबुबाको भन्दा ठूलो भयो छोडेर जाने जुनुको प्रेम?’ मलाई लाग्छ, यो प्रेमले सही ठाउँ नपाएको हो। अनि अर्को कुरा - मान्छे किन हरेक विषयमा आदान प्रदानलाई निकै विशेषता दिएको हुन्छ थाहा छ? ताकि सम्बन्ध कायम रहोस्। एकतर्फी माया खन्याउनुभन्दा पहिला हजुरका जन्मदाताको एकचोटी सोच्नु भएन? उहाँहरूको ऋण कसरी चुकाउनु हुन्छ - यो पाराले? गहिरो विचार गरेर भन्नुहोला!
(निलिमाको म्यासेजको पर्खाइमा) अचेल किन मौसम बदलिए झैँ लाग्छ मलाई! आखिर दिन, महिना, तिथिहरू खाली पल्टेर जिन्दगी कहाँ सकिने रैछ र! आज सम्झन्छु। सिमलको मुढो जस्तै भइसकेको मेरो मुटुमा निलिमाले बिस्तारै चलब्लाउने बनाउन थालेकी छे। अचेल आफ्ना विचारलाई नयाँ दिशातिर लगाउन आँट्दैछु। सोच्छु, निलिमा कुन परिको नाम होला? उसको बोलिमा आत्मीय धुन पाए झैँ लाग्छ। उसका हरेक प्रश्नको जवाफ ओठबाट नदिए पनि मनबाट दिइरहेको छु। उसको सोधाईमा आनन्दको अनुभूतिसम्म पाएको छु। उसको सम्बोधनले मलाई बढा आनन्द दिन थालेको छ।
‘तिम्रो चाहीँ कहिल्यै लव परेन?,’ मैले निलिमालाई ठाडै सोधेँ। उसले हाँस्दै जवाफ दिई, ‘परेको थियो नि कुनै बेला। तर अहिले छैन।’ ‘अनि के भयो र छैन?,’ उसले हाँस्दै भनी ‘कुनै बेला एउटा लिलिपुटको नागरिक जत्रै मान्छेसँग प्रेम भएको थियो। फटाहा रै’छ। आफ्ना ती छोटा औंलाले मेरो विशाल भाग्य नापेर गयो। के अड्कल पायो होला र हाहाहा...।’ अनि तिमीलाई दुःख भएन? जवाफमा भन्छे - ‘अलि दिन असह्य भयो,’ ‘अनि आखिर के भो त?’ ‘आखिर उसको व्यवहारको प्रत्युत्तरमा ठूलै झटारो फ्याकिदिएँ। अब त्यसका सात पुस्ताले निलिमा नाम उकेल्ने छैन।’ म दङ्ग परेँ। कति दह्रो मुटु भएकी रै`छे! आज म ऊबाट बाँच्ने कला सिक्दैछु। उसको बिस्तारै पछ्याउँदै छु।
‘तारा झार्दिउँ कि, दिलमा बसाइँ सार्दिउँ कि!, माया…पिरतीमा बैना मार्दिउँ कि.... ’ बेलाबेलामा यो गीत सुन्ने गरेको छु। यसभित्र निलीमालाई कताकता भेटे झैँ लाग्छ। अचेल निलिमाको चालाले नयाँ मोड लिन्छ जस्तो छ। हिजोआज खुइलिएको तालुमा कपाल उमार्न सोचेको छु। पुराना यादगारहरु मिल्काएर नयाँ भएर बाँच्ने मन पलाएको छ। उसको हरेक कुराले मलाई अचेल किन छुन्छ? किन मन लोभ्याउँछ कुन्नि?
‘हेल्लो! डियर याँ... सुन्नु न - मलाई हजुरको प्रेमकथा कोर्ने मन छ। कृपया लेख्ने अवसर दिनु न,’ निलिमाको प्रस्तावले मनमा उलुउलु भयो। नाइँ भन्न सकिनँ। तर... के लेख्ली निलिमाले? पुराना कहानी सिद्धाएपछि उसँगको बार्तालाप जोड्ली कि नाइँ? एक्कासी खुल्दुली भयो। उसलाई सोचेर म दिउँसै सपना देख्न थालेको छु।
उसलाई नजिकैबाट देख्ने मन छ। म्यासेन्जरमा कुरा मज्जाले छाँट्छे मोरी। भिडियो कल भने गर्न मान्दिनँ। बरू भेट्न आउनु भन्छे। ‘म आएँ भने तिमीलाई लिएर फर्कन्छु नि फेरि’ उ मज्जाले हाँस्छे र भन्छे, ‘बाजा, जन्ती बिनै?’ मैले पनि हाँस्दै जवाफ दिन्छु, ‘यो उमेरमा के को बाजा, जन्ती र? कुनै मन्दिरमा गएर भगवानको अघि सात फेरा लिउँला। प्रमाणका लागि दुई वटा तस्बिर खिचौला। मान्छेले चासो गरी सोधे भने त्यही तस्बिर देखाउँला। आजसम्म हरेक जोडीको आखिरीसम्म रहेको सबुत भनेकै भित्तामा टाँसेको फोटो न हो। खर्चपनि बँच्ने, लाङलपेट पनि नहुने!’
ऊ खित्का छोडेर हाँस्छे हाहाहा...। ‘कुरो सही हो। पैसै जोगिने। बरू संस्था प्रमुखसँग सूचना पनि गरौन। ताकि अरूका लागि पनि उदाहरण बनोस्,’ गफाडी छे मोरी। लभ पर्ला कि गफै मात्र पर्ला खै....!