शुक्रबार थप ५० जना कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५०७, निको हुने ७० जना

शुक्रवार नेपालमा ५० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमित संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज बिहान ३० जना र दिउँसो २० जना थपिएका हुन्।

संक्रमित हुनेमा बाँकेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा १३ जना बाँके नरैनापुरका पुरुष तथा राप्ती सोनारीका युवक रहेको मन्त्रालयले जनाएको छ। बाँकेमा आजै थपिएका १४ संक्रमितहरु १८ देखि ६१ वर्ष उमेर समूहका छन्।

यस्तै कैलालीका ३ जना १९, २३ र २६ वर्षीय पुरुषहरु रहेको छन्। उनीहरु जिल्लाको सरस्वती माविको क्वारेन्टाइनमा थिए।

त्यस्तै अर्का संक्रमित डडेलधुराका २८ वर्षीय पुरुष रहेका छन्। उनको डडेलधुरा अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै बैतडीका २२ वर्षीय पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनको बैतडी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आजै बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १५ जना सर्लाहीका नौ जना कपिलवस्तुका, चार जना नवलपरासीका र दुई जना चितवनका छन्। उनीहरू आठ वर्षदेखि ७३ वर्षसम्मका रहेको मन्त्रालले जनाएको छ।

यो सहित नेपालमा आज मात्रै ५० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ सय ७ पुगेको छ।

४० जिल्लामा फैलियो संक्रमण

नेपालका कुल ७७ जिल्ला मध्ये ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

विगत चार महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ।

जसमध्ये सबैभन्दा बढी बाँकेमा ११५ जना , पर्सामा ९१, कपिलबस्तुमा ६९, झापामा ३५, उपयपुरमा ३३, रूपन्देहीमा २९, रौतहट २२, सर्लाहीमा १९ तथा काठमाडौंमा १२ जनामा संक्रमण देखिएको छ।

यस्तै धनुषामा ९, कैलाली र धनकुटामा ७-७, नवलपरासी पश्चिममा ६, चितवन, मोरङ र दाङमा ५-५, बारामा ४, महोत्तरी, सुनसरी र भक्तपुरमा ३-३, धादिङ, बागलुङ, बर्दिया, नवलपरासी (पूर्व) र मकवानपुरमा २-२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै

भोजपुर, कञ्चनपुर, सप्तरी, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, गुल्मी, खोटाङ, दैलेख, ललितपुर, लमजुङ, रामेछाप, सिन्धुली, डडेलधुरा र बैतडीमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

निको हुने संख्या ७० पुग्यो

नेपालमा अहिलेसम्म संक्रममित ५०७ मध्ये ७० जना स्वास्थ्योपचार पछि निको भएका छन्।

बाँकेका शुक्रबार सबैभन्दा धेरै २१ जना कोरोना सक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ७० पुगेको हो।

बैशाख अन्तिम साता कोरोना संक्रमण देखिएका नेपालगञ्जका २५ जना मध्ये २१ जना घर फर्किएका हुन।

उनीहरूको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिएको थियो। सबै जनालाई विशेष बधाई ज्ञापन गर्दै फूल,माला र अविर ग्रहण गरेर अस्पतालबाट विदाइ गरिएको हो।

निको हुनेमा नेपालगञ्जका पहिलो कोरोना संक्रमित ६० वषर्षीय पुरूष र अन्य २० जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

बाँकेमा पहिलो पटक गत बैशाख १९ गते एक ६० वर्षीय पुरूषमा कोरोना सक्रमण पुष्टि भएको थियो। 

कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पहिलो संक्रमितसहित २० जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका हुन्। उनीहरूलाई अझै दुई साता होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको श्रेष्ठले जानकारी दिए।

 ‘पहिलो संक्रमितको तीन पटक र अन्य २० जनाको दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो,’उनले भने,‘उहाँहरु यहाँबाट जानुभएपछि दुई साता होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएका हौं।’

तीन जनाको मृत्यु

शुक्रबारसम्म नेपालमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुष छन्। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत  उनको बिहिबार बिहान निधन भएको हो।

यसअघि नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक एक २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो। उनी वैशाख २३ मा काठमाडौंस्थित शिक्षण अस्पताल भर्ना भएर २४ गते बच्चा जन्माई २५ गते आफ्नै घर सिन्धुपाल्चोकको बाह्रबिसे पुगेकी थिइन्। तर, त्यसपछि शारीरिक समस्या देखिएपछि उनी स्थानीय अस्पतालमा उपचार गराउन गएकी थिइन्। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धुलिखेल अस्पताल ल्याउँदै गर्दा जेठ १ गते मृत्यु भएको थियो।

उनको कोरोना संक्रमणपछि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३ गते मात्रै पुष्टि गरेको थियो।

कोरोना संक्रमणपछि भएको दोस्रो मृत्यु भने बाँकेका एक युवाको भएको थियो। उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखलाको समस्या देखिएको थियो। ४ गते बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

३० गते भारतबाट नेपाल आएका उनी नरैनापुर गाउँपालिका-५ स्थित भोज भगवानपुरस्थित क्वारेन्टाइनमा बसिरहेका थिए।

उनको पनि मृत्युपछि नै कोरोना संक्रमण पुष्टि भएको थियो। मृत्युपछि ४ गते दिउँसो भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनमा कोभिड-१९ पुष्टि भएको थियो। पछि स्वास्थ्य मन्त्रालयले उनको संक्रमणबाटै मृत्यु भएको पुष्टि गरेको थियो।

प्रकाशित मिति: : 2020-05-22 16:29:08

प्रतिकृया दिनुहोस्