यावत मुद्रण र विद्युतीय माध्यममा सुगाशैलीमा एउटा समाचार छापियो । यी सबैको आशय एउटै थियो, भाका एउटै । मानौँ केवल नामका हिसाबले यी फरक माध्यम हुन्, कर्म र धर्मका हिसाबाले यी हुन् एकै बटनद्वारा सञ्चालित यन्त्रमानव— रोबोट । समाचारले भन्यो— पच्चीस वर्षे युवक नरैनापुरको क्वारेन्टाइनमा मरे । यो समाचार सरासर असत्य थियो । सत्य समाचार क्वारेन्टाइन स्थल, दीपेन्द्र प्राविका भित्तामा गोबरका निराकार अक्षरमा लेखिएको थियो— पच्चीस वर्षका युवकलाई सरकारले थुनेर मार्यो ! यी अनेकओली माध्यमका छापिएको समाचारको पेट व्यहोरामा भने कमसेकम यो समाचार अर्ध–सत्य थियो, जसमा युवक कुन अवस्थामा मरे, कसरी मरे, कसले मार्यो आदि कुराको वृत्तान्त थियो ।
क्वारेन्टाइनमा मारिएका युवक बाँके जिल्लाका थिए । ती थिए, सीमान्त अल्पसंख्यक मुस्लिम समुदायका एक सदस्य । नरैनापुर गाउँपालिका थियो तिनको दुखिया बासस्थल । मर्मान्तक व्यथा र असैह्य वेदनायुक्त तिनको कथा हदै हृदयविदारक छ । राप्ती किनारमा तिनका परिवारको खोस्रिखाने अलिकता माटो थियो, त्यो माटोमा तिनको मुन्टो लुकाउने सानो छाप्रो थियो । साठी सालमा राप्तीको बाढीले तिनको खोस्रिखाने माटो बगायो, एकहत्तर सालमा तिनको मुन्टो लुकाउने छाप्रो बगायो । राप्तीको बाढीमा तिनको लालपुर्जा बग्यो, र सँगै बगेर गयो तिनको नागरिक बन्ने निस्सा पनि । र, बासउठ्ठा भएको तिनको अनागरिक परिवार नजिकैको सामुदायिक वनको शरण पर्यो । सत्ता, शक्ति र सम्पत्तिका स्वामी हुकुमबासीको राजमा तिनको परिबार अब सुकुम्बासी भयो ।