भारतीय रेल सेवाले एकै दिनमा २०४ ओटा मजदुर विषेश रेल सञ्चालन गरिएको जनाएको छ।
रेल मार्ग मन्त्री प्युष गोयलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रति दिन झण्डै दुई सय श्रमिक रेल सञ्चालन गराउने आफ्नो प्रतिवद्धताअनुसार उनीहरुलाई सञ्चालनमा ल्याइएको स्पष्ट पारे।
लकडाउनका कारण विभिन्न प्रदेशका अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा लैजाने गरी यस्ता विषेश रेल सेवा सञ्चालन गरिएको उनको भनाइ छ।
‘हामीले यसअघि झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौँ भन्ने प्रतिबद्धता गरेका थियौँ, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ,’ उनले लेखेका छन्।
उनका अनुसार विषेश रेल सेवा सञ्चालन भएदेखि अहिलेसम्म एक हजार ७७३ ओटा विषेश रेल सेवा सञ्चालन भइसकेको छ।
उनले आगामी दिनमा अझ धेरै रेल सेवाहरु सञ्चालन गर्ने योजना रहेको पनि बताइन्। त्यसका लागि चाँडै नै अनलाईनबाट टिकट बुकिङ गर्ने व्यवस्था हुने पनि उनले उल्लेख गरिन्।