नेपालको पक्षमा बोलेको भन्दै मनिषामाथि खनिए भारतीय मिडिया र समर्थक, भारतबाट लखेट्न माग

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ। यसमा थुप्रै नेपाली खुसी भएका छन्। 

खुसी हुनेमा मध्य एक हुन अभिनेत्री मनिषा कोइराला। नेपाली मूलकी बलिउड नायिका  कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि–ट्विट गरिन्। मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन्।

उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ। एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ। चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो। तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन्। नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ।

समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाइएको छ।

मनिषालाई भारतबाट लखेट्न मागः

कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गालीसमेत गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको  र गाइरहेकी छे भिन्न राग। यसलाई भारतबाट लखेट। यसको फिल्म बहिष्कार गर। ’

यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक हराम’।’

यस्तै अर्का एक व्यक्तिले मनिषालाई बहिष्कार गर्न माग गर्र्दै लेखेका छन्, ‘भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गरिरहनुभएको छ? भारतीय फिल्म उद्योगले तपाईंलाई पर्याप्त चर्चा र पैसा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?’

एकजनाले लेखेका छन्, ‘नेपाल चीनसँग सतर्क रहनुपर्छ, नभए नेपालको पनि हालत तिब्बतको जस्तै होला।’

नेपालको यो कदमलाई नरुचाएका अर्का एक व्यक्तिले लेखे, ‘नेपाल सधैं भारत विरोधी रहँदै आएको छ र उसको नजर सधैं भारतको भूमिमा छ। लिपुलेखजस्तो भारतको अभिन्न अंगमा जबर्जस्ती दाबी गरिनुले नेपालको तुच्छ मानसिकता दर्साउँछ।’

प्रकाशित मिति: : 2020-05-20 12:36:42

प्रतिकृया दिनुहोस्