नीतिहरूमा निष्पक्षताको प्रश्न उठेपछि डब्ल्युएचओले स्वतन्त्र छानविन गर्न दिने गर्‍याे घोषणा

बिएल संवाददाता

न्युयाेर्क

कोरोना भाइरस (कोभिड–१९)का लागि लिइएका नीतिहरूमा निष्पक्षताको प्रश्न उठेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले स्वतन्त्र छानविन गर्न दिने घोषणा गरेको छ।

डब्ल्युएचओका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मंगलबार सहमत भएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको केही घण्टामै डब्ल्युएचओले यस्तो निर्णय गरेको हो।

डब्लुएचओले चीनमाथि आवश्यक भन्दा बढी विश्वास गरेकोआरोप अमेरिकाले लगाउँदै आएकाे छ। चीनले कोरोना भाइरसको महामारीको सुरुवात ढाकछोप गरेको अमेरिकाले आरोप लगाएकाे छ। अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार डब्लुएचओ चीनको ‘कठपूतली’ बनेको आरोप लगाए।

अमेरिकाले निरन्तर आलोचना र आशंका गर्दै उसको निस्पक्षतामाथि नै प्रश्न उठाउदै आएपछि यसका लागि डब्ल्युएचओमाथि स्वतन्त्र छानवीन गर्ने सदस्य राष्ट्रहरूबीच सहमती भएको हो।

डब्लुएचओको ७३ औँ वार्षिक स्वास्थ्य सम्मेलनमा भाग लिने सदस्यहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोना भाइरसबाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको छ।

जसमा डब्लुएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ।
 

प्रकाशित मिति: : 2020-05-20 07:18:14

प्रतिकृया दिनुहोस्