लकडाउनलाई केही व्यक्तिहरुले सरकार असफल देखाउने अवसर ठाने: प्रधानमन्त्री ओली

बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोना भाइरस फैलियाे

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई केही व्यक्तिहरुले सरकार असफल देखाउने अवसर ठानेर उल्लघंन गरेको बताएका छन्। तर उनले सरकारले जनताबाट व्यापक समर्थन पाएको पनि बताए।

मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली उक्त कुरा बताएका हुन्। ‘केहीले लकडाउनमा कोरोना नियन्त्रण गर्नेभन्दा पनि सरकारलाई असफल देखाउने र राजनीतिक खेल खेल्ने गरे पनि जनताबाट व्यापक समर्थन प्राप्त गर्‍यौं,’ प्रधानमन्त्री ओलीले भने।

जुन देशले लकडाउनको राम्ररी पालना गरे त्यहाँ कोरोना भाइरसको संक्रमण कम भएको र जुन देशले यसको महत्व बुझेनन् त्यहाँ अवस्था भयावह भएको उनले बताए।

सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ। अन्तिम पटक थपिएको लकडाउन जेठ २० मा सकिँदैछ।

यस्तै प्रधानमन्त्री ओलीले बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन्।

विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको जिकिर गरे। प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधि र सीमामा आएर बस्नेहरुका कारण बाहिरबाट आउने क्रम रोक्न नसकिएको बताए।

यसले गर्दा देश भयावह स्थितितिर गएको र कोरोना कहाँबाट सर्‍यो भन्ने नै पत्ता लगाउन गाह्रो हुने बताए। बाहिरबाट अझै आउन सक्ने सम्भावना रहेकाले वडास्तरमा क्वारेन्टाइन बनाउने काम अघि बढाएको प्रधानमन्त्रीले बताए।


 

प्रकाशित मिति: : 2020-05-19 13:01:26

प्रतिकृया दिनुहोस्