‘कोरोनाका कारण एसियाकै सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा’

जनार्दन बराल

कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । कोरोनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने अनुमान एडिबीको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रहँदा यो स्तरको क्षति हुनेछ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा नेपालमा हुने आर्थिक क्षति एसियाली मुलुकमध्ये सबैभन्दा बढी हो ।

अन्य दक्षिण एसियाली मुलुकहरू भारतमा जिडिपीको ६ प्रतिशत, बंगलादेशमा ६ दशमलव ६ प्रतिशत, पाकिस्तानमा ५ दशमलव १ प्रतिशत र श्रीलंकामा ६ प्रतिशतसम्म कोरोनाका कारण क्षति हुने अनुमान एडिबीको छ । 

एसियाली मुलुकमध्ये नेपालपछि सबैभन्दा गम्भीर आर्थिक क्षति दक्षिण कोरियामा ११ दशमलव ७ प्रतिशत र चीनमा ११ दशमलव २ प्रतिशत हुने अनुमान एडिबीको छ । तर, कोरोनाको रोकथाम ३ महिनामै भयो र सरकारहरूले ठोस नीतिगत पहल गरे क्षति कम हुन सक्ने पनि एडिबीको अनुमान छ । 

प्रकाशित मिति: : 2020-05-19 08:02:56

प्रतिकृया दिनुहोस्