सांसदहरुद्वारा कोरोना संकटका लागि विशेष प्याकेज माग

सांसदद्वय लक्षमणलाल कर्ण र प्रदीप यादवले पर्सा जिल्लामा कोरोना संकटको सामना गर्नका लागि बिशेष प्याकेजको माग गरेका छन्। आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर आफ्नो उनीहरुले साे माग राखेका हुन्। 

वीरगञ्जमा ठूलो आकारको बह्त र सुबिधासम्पन्न बेग्लै कोरोना अस्पताल बैकल्पिक रुपमा सुरु गर्ने, पीसीआर परीक्षणको दायरा बढाउनका लागि आवश्यक किट पर्याप्त संख्यामा उपलब्ध गराउन, अस्पताल भर्ना हुने संक्रमितहरुको उपचार, खाना तथा अन्य सुबिधा विश्व स्वास्थ्य संगठनको मापदण्डमा अबिलम्ब सुरु गराउन र जारी लकडाउन र निषेधाज्ञाले यहाँको जनजीवन कष्टकर बनेकोले उचित ब्यवस्थापन गर्न लगायतका माग सांसदद्वयले राखेका थिए।

भेटमा उपप्रधानमन्त्री पोखरेलले वीरगञ्ज मुलुकमै सबभन्दा बढी जोखिमको क्षेत्र भएकोले त्यहाँ चाहिने स्रोत साधनअबिलम्ब उपलब्ध गराउने प्रतिबद्धता दिएको सांसद यादवले बिएल नेपाली सेवालाई जानकारी दिए।

उपप्रधानमन्त्री पोखरेलले तत्कालै वीरगञ्जको नेशनल मेडिकल कलेजका संचालक महमद बसरुद्दीन अन्सारीलाई टेलिफोन गरि उक्त अस्पताललाई कोडिड–१९ अस्पताल बनाउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएका छन्। त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई समेत उपप्रधानमन्त्री पोखरेलले निर्देशन दिँदै यसको लागि आवश्यक प्रबन्ध गर्न भनेका थिए।

नारायणी अस्पतालमा सरकारले अहिलेसम्म कोभिड अस्पताल संचालन गरेपनि त्यसको क्षमताभन्दा बढी संक्रमित फेला परेका कारण यहाँ ब्यवस्थापनमा चुनौति थपिएको छ।

वीरगञ्ज महानगरपालिकामार्फत् एउटा निजी अस्पताल थप रुपमा संचालनमा ल्याउन तयारी गरिए पनि त्यो पर्याप्त नभएकोले नेशनल मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउनुको बिकल्प नरहेको उपप्रधानमन्त्री पोखरेलसँगको छलफलको निश्कर्ष रहेको सांसद यादवले बताए।

त्यस्तै किट लगायत आवश्यक सामग्री आपूर्तीको लागि पनि उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालय लगायत जिम्मेवार निकायलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2020-05-17 19:34:12

प्रतिकृया दिनुहोस्