नारायणीलाई जोखिममुक्त अस्पताल बनाउन अझै ३ महिना पर्खिनुपर्छ: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तत्काल नारायणी अस्पताल जोखिममुक्त हुन अझै कम्तिमा ३ महिना पर्खिनु पर्ने बताएका छन्।

वीरगञ्जको टाउन हलमा प्रदेश सरकारद्वारा आयोजित सर्वदलिय तथा सर्वपक्षीय वैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको हुँदा जनरल अस्पतालको रुपमा संचालन गरे अन्य व्यक्तिमा कोरोनाको संक्रमण फैलन सकिने खतरा रहेका बताए। 

‘३ तहको सरकारका कारण वीरगञ्जले समस्या खेप्दै आएको छ। प्रदेश सरकार नारायणीलाई कोभिड अस्पताल बनाउने पक्षमा छैन। तर, अब चाहेर पनि ३ महिना नारायणीलाई जोखिममुक्त बनाउन सकिँदैन्,’उनले भने।  

पर्साका ९१ जनामा कोरोना संक्रमण देखिएपछि नियन्त्रणका लागि अवलम्वन गर्नुपर्ने उपायका सम्बन्धमा कुरा गर्दै उनले नारायणी अस्पतालका साथै थप एक कोरोना अस्पताल निर्माणका लागि ढिलाई गर्न नहुने बताए। 

उनले भने,‘संक्रमण तिव्र गतिमा फैलिएको छ। थपिनेलाई राख्ने ठाउँ पनि छैन। अब तत्कालै अर्को अस्पताल बनाउन जरुरी छ। यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ।’

उनले केन्द्रिय अस्पतालमा हस्तक्षेप गर्न नमिल्ने भन्दै नारायणी अस्पतालको बारेमा संघिय स्वास्थ्यमन्त्रीसँग पटक पटक कुरा गरेको पनि जानकारी गराए । ‘मैले धेरै पटक कुरा गरे तर केन्द्र सरकारसँग अर्बौ बजेट भएरपनि प्रदेश २ प्रति खासै चासो नदिएन,’ उनले भने। 

प्रदेश सरकारले नारायणीमा १० वटा भेन्टिलेटर उपलब्ध गराउने पनि बताए।  मुख्यमन्त्री राउतले नारायणी अस्पतालको आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई स्वस्थ्या खाना उपलब्ध गराउन अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई निर्देशन समेत दिएका छन्। 

यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण रणनीतिका साथ प्रदेश सरकार उत्रिने मुख्यमन्त्री राउतले बताए। ‘दिन प्रति दिन बढ्दै गएको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सीमा क्षेत्र सिल गरिएको छ। भारतबाट हुने गरेको घुसपैठले समस्या निम्त्याएको छ। त्यसैले आवश्यक रणनीतिका साथ मैदानमा उत्रिने छाैं’,उनले भने।

कोरोना नियन्त्रणका लागि सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी गराए। ‘कृषकहरुको सहुलियतका लागि प्रदेश सरकारले ३६ करोड रुपैयाँ छुट्याइएको छ। कृषकको लागि ४ महिना को ब्याज मिनाहा गरिएको छ’, उनले भने।
 

प्रकाशित मिति: : 2020-05-16 20:30:57

प्रतिकृया दिनुहोस्