युगौंदेखीको कोलाहलमय वातावरण
स्वार्थताका कलंकित दौड़धुपहरु
पाउनु र रमाउनु उछ्छिनु मै चलेको जिन्दगी
सफलताहरु अंगाल्न हिमशिखरसम्म
नाघ्ने धृष्टता
सूक्ष्म कीटाणुले क्षत-विक्षत बनाएपछि
घायल म
होस्! म घर मै बस्छु ।
यो शान्त वातावरण
चकमन्न यी शहरहरु
बल्ल फूल फूल्न लागेका छन्
प्रकृतिका ऑगन र बगैंचाहरुमा
निस्फिक्री भएर बल्ल उड़दैछन्
त्यो आकाशमा सुगाहरु
मान्छेको चहलपहल नदेखेर
गाईरहेछन् बल्ल उन्मुक्तिका गीतहरु।
घरभित्रै थुनिएका छन्
धनुष वाण लुकाएर राजकुमारहरु
हात हातमा डण्डा लिएर
गल्ली गल्ली घुम्दैछन्
हिजाज सिद्धार्थहरु
बोकेर कानून र अनुशासनका पताकाहरु
यसैले सोच्दैछु म
उर्दीधारी सिद्धार्थहरुको
सुझाव लिनु छैन मलाई
होस्! म घर मै बस्छु ।
कोरोना माईको छलि मुस्कुराहटमा
कायल हुनु छैन मलाई
चिप्लो धसेर अंकमाल गरदै
मुटुमा हमला गर्नु छैन मलाई
आफै बाँच्नु छ अनि
धेरैलाई बचाउनु छ
छोपेर आफ्नै नाक र मुख
पुछेर हातहरु रसायन तत्वहरुले
यस घड़ी
मूर्ख बाघ बनेर
शिकारमा जानु छैन मलाई
होस्! म घर मै बस्छु ।
धर्म र कर्म भन्दा
मर्म नै ठूलो जानेर
एक एक मानव जीवन
अमूल्य र अतूल्य ठानेर
नाकाबन्दी छ हिजाज
रोकेर विकास का योजनाहरु ठप्प
सरकारी सूचना
मान्छे नै बचाउने होड़ छ अहिले
स्विकार्य छ मलाई
एक एक नियमहरु
मानवताको साईनो जोगाउन
हो यो मेरो निजी विचार हो
आफै निर्धारित मान्यता
मेरो आफ्नै आदेश आफैलाई
अराजकता र उच्श्रृंखलता
उथल पूथल मचाउनु छैन मलाई
अब रित्तो र सुनसान शहर
सड़क र चौरस्ता घुम्नु छैन मलाई
होस्! म घर मै बस्छु ।