ट्रम्पकाे असन्तुष्टिपछि विश्व व्यापार संगठनका महानिर्देशक अजिभिडोले दिए आकस्मिक राजीनामा

रासस

जेनेभा

विश्व व्यापार संगठन (डब्लुटीओ) का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल १ वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन् । आगामी अगष्ट ३१ लागू हुने गरी उनले राजीनामा गरेका हुन् । उनी विगत ७ वर्षदेखि डब्लुटीओको प्रमुख छन् ।

अमेरिका–चीनबीच व्यापार तनाव जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटीओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गरेका हुन् । उनले व्यक्तिगत कारण भने पनि अमेरिका उनीसँग लामो समयदेखि असन्तुष्ट रहँदैआएको थियो । सोही कारण उनले पदबाट राजीनामा गरेको हुन सक्ने अनुमान गरिएको छ । 

स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटीओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका छन् । चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटीओले चीनको पक्षमा बढी काम गरेको र अमेरिकी सरोकारका विषयमा विल्कुलै चासो नदिएको आरोप ट्रम्पले लगाएका छन् । 

डब्लुटीओ मुख्यालयमा संगठनका प्रतिनिधिहरुसँगको विशेष बैठकमा महानिर्देशक अजिभिडोले व्यक्तिगत कारणले राजीनामा गरेको बताएका छन् । आफ्नो राजीनामाले संगठनको सर्वोत्तम हितलाई पक्षपोषण गर्ने पनि उनले विश्वास व्यक्त गरेका छन् । डब्लुटीओ स्थापना भएको २५ वर्ष पुगेको छ तर कुनै पनि महानिर्देशकले बीचमै पद त्याग गरेका छैनन् । संगठनको नियम बमोजिम अब नयाँ महानिर्देशकको नियुक्ति प्रक्रिया सुरु हुनेछ ।

ब्राजिली अर्थशास्त्री अजिभिडो नेतृत्वको डब्लुटीओविरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरेको थियो । डब्लुटीओले चिनियाँ कैयौं व्यापार व्यवसायमा चीन सरकारले स्वीकृत नियमविपरीत दिइरहेको सरकारी अनुदानलाई आँखा चिम्लेको तथा बौद्धिक सम्पत्तिको सुरक्षाका मामिलामा डब्लुटीओले ढुलमुले नीति लिएको आरोप अमेरिकाको छ । 

पेन्सिलभेनिया प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजेभेडोको राजीनामा उपयुक्त निर्णय भएको बताए । “विश्व व्यापार संगठनले हामीलाई निकै नराम्रो व्यवहार गरेको थियो । मैले यो कुरा लामो समयदेखि भन्दै आएको छु । उनीहरुले चीनलाई विकासशील मुलुक ठान्छन्, त्यसकारण चीनले त्यसको आडमा धेरै लाभ लिइरहेको छ तर अमेरिकाले केही पाएको छैन ।”

सन् २००१ मा चीनले डब्लुटीओको सदस्यता प्राप्त गरेको थियो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले अजिभिडोको उदाहरणीय सेवाप्रति धन्यवाद दिए । “डब्लुटीओका धेरै कमीकमजोरीका बाबजुद रोबर्टोले संस्थालाई महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्षम भएका थिए ।”

अजिभिडोको कार्यकालमा डब्लुटीओप्रति रुष्ट भएको संयुक्तराज्य अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार विवादको सुनुवाई गर्ने पुनरावेदन अदालतको आकार घटाएको थियो । चिनियाँ पूँजीवादी–सामाजिक आर्थिक प्रणालीद्वारा सिर्जित नयाँ चुनौतीहरु सामना गर्न डब्लुटीओ असफल रहेको भन्दै अमेरिकाले डब्लुटीओमा नयाँ न्यायाधीशहरुको नियुक्ति रोकेको थियो । 

'नियम–आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली' को कार्यान्वयनका लागि अत्यावश्यक मानिएका न्यायाधीशको नियुक्तिमा भएका ढिलाइले ठूलो समस्या निम्त्याएको थियो । महानिर्देशक अजिभिडोले न्यायाधीश नियुक्ति संगठनको नियमित कार्य सञ्चालनका लागि अपरिहार्य रहेको बताउँदै आएका थिए । 

प्रकाशित मिति: : 2020-05-16 14:44:06

प्रतिकृया दिनुहोस्