विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर अर्थात बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरका कोरोना भाइरस प्रवेश गरेको छ।
बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई रोहिंग्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
कक्स बजारको शिविरमा म्यानमारमा आफूहरुमाथि भएको हिंसाबाट जोगिनका लागि भागेर आएका झण्डै १० लाख रोहिंग्याहरु बस्दै आएका छन्।
कोरोना भाइरस संक्रमण पुष्टि भएका दुई रोहिंग्यालाई हाल आइसोलेशनमा राखेर उपचार सुरु गरिएको सरकारी डाक्टरले उल्लेख गरेका छन्।
कक्सको शिविरमा रहेको झण्डै १९ सय शरणार्थीहरुलाई पनि आइसोलेशनमा राखिएको छ। उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण हुने भएको हो।
कक्स बजारको शिविरमा रहेका रोहिंग्याहरु गएको मार्च १४ देखि नै लकडाउनमा छन्।
कक्स बजारको शिविरमा प्रति एक वर्गकिलोमिटरमा ४० हजार देखि ७० हजार शरणार्थी बस्न बाध्य छन्। यहाँ संक्रमण फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नु सम्भव छैन।
यहाँ साँघुरा टहरामा स्वच्छ पानीको पहुँच बिना बस्दै आएका रोहिंग्याहरुमा महामारी सुरु भएमा तीव्र गतिमा फैलिन सक्ने भन्दै विगत लामो समयदेखि चिन्ता व्यक्त गरिएको थियो।
बंगलादेशमा सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा शमिम जाहनले भनेका छन्, ‘ विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्तीमा भाइरसको प्रवेश औपचारिक रुपमा भएको पुष्टि भएको छ। यसबाट हजारौँ व्यक्तिको ज्यान जोखिम रहेको देखिएको छ।’
यो महामारीले बंगलादेशलाई दशकौँ पछाडि धकेल्न सक्ने उनले चेतावनी दिएका छन्।