दिपा दाहाल
कुनै बेला गाउँमै बस्नु पर्दा भाग्यले ठगेको भन्थे युवाहरु। कुटोकोदाली गर्नु या पुर्खाको पेशा अंगाल्नु पर्दा धेरै युवाले दिक्दारी ठाने।
सम्पति बेचेर, ऋण लिएर र बीचमै पढाई छोडेर शहर या विदेश हानिए। गाउँ उराठ बन्यो। घर छोडेका छोरोछोरीको सम्झनामा वृद्धवृद्धाहरुको आँखा ओभानो भएन। श्रमबिना धेरै खेतहरु बाँझो रहे।
सोचेजस्तो काम नपाएपनि विदेशबाट गाउँ फर्कन तयार भएनन् युवाहरु। बरु बिरानो ठाउँमा जस्तोसुकै परिश्रम गर्न तयार भए। कैयौँ युवाले विदेशमै प्राण त्याग गर्नुपर्यो। बाकसमा कैयौँको निर्जीव शरीर मात्र स्वदेश फर्कियो। कैयौँ युवा रोगग्रस्त बनेर आफ्नो देशको सहारा खोज्दै आए।