वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी । आजको सूर्योदयसँगै जोशीले एक शताब्दी पार गरेका छन् । अर्थात्, आज उनको जीवनको १०१ वर्षको पहिलो सूर्योदय ।
हिन्दू धर्म र परम्परामा जीवन सय वर्ष पूरा हुनुले विशेष महत्व राख्छ । उनको जिन्दगी अर्को पाटोमा प्रवेश गरेको दिन हो आज ।
वैशाख ३० गते सत्यमोहन जोशीको गते अनुसारको जन्म दिन हो । उनी विसं १९७७ साल बैशाख ३० गते जन्मेका थिए। उनले भने, ‘बैशाख ३० गतेअनुसार जन्म दिन हो । तिथि त नवमी हो, ३० गते त पर्दैन ।’
‘सय वर्ष नाघेको उपलक्ष्यमा नेपालीलाई के आशीर्वाद दिनुहुन्छ त बा ?’
बा बोले, ‘मुख्य कुरा त राष्ट्रको भलो होस् । राष्ट्रको उन्नति होस् .... यत्रो कोरोनाको विपत्तिमा फसेको छ संसार । नेपाली कसैलाई केही नहोस् ।’
जीवनका एक सय वसन्त पार गरेको दीर्घ जीवनका पनि पूरा हुन नसकेका केही निजी आकांक्षा पनि पो छन् कि ! सोधी हालौँ न त !
‘जीवनमा इच्छाएको तर प्राप्त हुन नसकेको केही छ कि?!’
निजी इच्छा र पूरा नभएका आकांक्षा खासै रहेनछन्– सत्यमोहन बाका । उनले आफ्नो अन्तिम इच्छा प्रकट गरे, ‘म साहित्यमा लागेको मान्छे, कमसेकम एक जना नेपालीले नोबल पुरस्कार पायो भन्ने सुनेर जान पाएको भए....!’
बाको अन्तिम इच्छाले मन छोयो । बा अब निजी आकांक्षा भएका व्यक्ति रहेनछन् । अनि न भएछन् उनी– वाङमय शताब्दी पुरुष ।
सत्यमोहन बा पाटन, बखुम्बहालस्थित पुख्यौली घरमा बस्छन् । अहिले त्यो कम्पाउण्डभित्र ‘बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवम् अध्ययन केन्द्र’ को भवन बन्ने धमाधम छ ।
सत्यमोहन जोशीको कम्पाउण्डमा पुस्तक, पुराना पत्रपत्रिका छरिबरि छन् । नेपाली, नेवारी र अंग्रेजी भाषाका । किसानको घरमा खेतबाट पाकेर ल्याएको मकै झुत्ता पार्न नभ्याएर थुपारेजस्तै गरी थुपारिएका छन् । बेमौसमे बैशाखे झरीले किताब भिजेका छन् । यो देख्दा बाको मन कुँडिएको छ । तर, के गर्नु ! तागत घटिगो ।
बाको ह्याउ भने घटेको छैन । त्यसैले त्यही डंगुरमा बा आफूलाई भुल्याइरहेका छन् । इच्छाशक्तिको बलमा बाले लौरोको सहायता पनि अझै खोजेका छैनन् । आफूले पूजा गर्न बनाएको चौतालको बीचमा एक्लै लर्याङबर्याङ गर्दै छन् । शायद् उनी केही काम गर्दैछन् त्यहाँ ।
नजिकै किताब र पत्रपत्रिकाको फस्यौलबीच च्यासलकी एक महिला काम गरिरहेकी छिन् । भिजेका पुस्तक र दुर्लभ पुस्तकका फोटोकपी त्यहाँ फिँजाएर सुकाइएका छन् । नेपाली भाषा राम्रो बोल्न नजान्ने पाको उमेरकी ती महिलाले भनिन्, ‘अब यो टक्टक्याएर त्यो बाकसमा हालेर राख्ने ।’
सत्यमोहन बाको नेवारी परम्परागत घर एउटा घर भत्काइएको छ । अहिले त्यहाँ प्रतिष्ठानको घर बनाइँदै छ । बाका पिता–माताजीका सालिक जस्ताका तस्तै राखिएका छन् । त्योभन्दा पछाडि जग खनिएको छ ।
शनिबारको दिन । शताब्दी पुरुष सत्यमोहन बालाई भेट्न जाने भनेर उनको ‘ल्याण्ड लाइन’ मा फोन गरियो । पहिला आमैले उठाइन् । अनि बालाई दिइन् । बाका कान कम्ति टाठा छैनन् । श्रब्यशक्ति त कुकुरका भन्दा कम छैन, बाको ।
फोनमा बाले भने, ‘नआऊ, बोल्ने कुरा केही नयाँ छैन । मेरो घर पनि भत्केर यहाँ खतम भएको छ ।’ घर भत्केको हो कि भत्काएको हो, कुरो प्रष्ट भएन ।
बाको जवाफले त झन् नगई नहुने भयो । जाँदाजाँदै बाको कम्पाउण्डभित्र चियाएको । बाहिरैबाट सेतै फुलेका बा देखिए आँगनमा ।
सधैँ सुचीकारले सिलाएको टोपी लगाएको भेषमा मात्र हुन्थे बा । आज अलि पालतो भएको, चाँदीजस्तै सेतै फुलेको तर लय नमिलेका कपालमा थिए । निधारमा परेका मुजा खुम्च्याएर काम गरिरहेका थिए– चौतालमा । बादलले ढाकेको मधुरो घामको पार पनि लिँदै काम गर्न खोज्दै थिए बा ।
तीन वटा प्लास्टिकका कुर्सी थिए– बाका पछाडि । उनी उभिएर केही काम गर्दै थिए । अझ पनि काम नगरी बस्नै सक्दैनन् बाबै । जाँगर कस्तो हो ! त्यो उमेर, यो सक्रियता !?
उमेरले १०१ लागेर के भो र, बाले अहिले पनि मासु–चिउरा चपाउछन्– खाजामा । सुत्नेबेलामा अलिकति सगुन नभई निद्रा पर्दैन । सय पुग्न लम्किरहेकी आमैभन्दा बा नै निकै ‘तन्नेरी’ देखिन्छन् ।
मूल ढोकाबाट भित्र पस्नेबित्तिकै दुई हात जोडेर नमस्कार गर्यौँ । बाले फर्काए । ‘यसो पाटन आएका थियौँ, नभेटी बाटो काटेर कसरी जाऊँ जस्तो लाग्यो । अनि आएको’ ।
‘आऊ–आऊ’, बाले हात हल्लाएर बोलाए । भने, ‘मेमोरी अलि लस हुन थालेको छ । अलि बिर्सन्छु । पहिलाजस्तो छैन ।’
कोरोनाको महाव्याधिले संसारलाई लपेटोको बेलामा हामी दुई जना १०१ वर्ष लागेको तन्नेरीको दर्शन गर्न पसेका छौँ । अलि परैबाट कुराकानी गर्दैछौँ । बालाई भने खासै पर्बाह छैन कोरोनाको ।
‘यो घर भत्केको कि भत्काउनुभएको ?’, कुरा सुरु गर्यौँ ।
बाले भने, ‘सानो झुप्रो थियो, भत्काइदिएको । यहाँदेखि पछाडिसम्म (इशारा गरेर देखाउँदै) ।’
‘अचेल त मनसुन पनि अचम्मकै भयो भन्या ? बैशाखमा झरी परिरा’छ ?’
यस्ता वर्षा र हिउँद १०० वटा पचाइसकेका बाले सहज जवाफ दिए, ‘कहिलेकाहीँ त्यस्तै हुन्छ ।’
‘पहिला–पहिला पनि बैशाखमा झरी र जाडो हुन्थ्यो त बा ?’, सोधी हाल्यौँ ।
उनले भने, ‘अगाडि–अगाडि पनि हुन्थ्यो नि, कसलाई के थाहा ? पहिला क्याइमेटको फोरकास्ट गर्ने हुँदैनथ्यो, हैन?’
’जाडो छ नि, बैशाख अन्तिमको गर्मी महिनामा पनि, यत्रो बक्लो लुगा लगाएर हिँड्नुपर्छ ?’
बाले पुरानो लोककथनतिर डोर्याइहाले, ‘पहिला–पहिला लामाहरुले (बाजा) फुक्ने हुन्थ्यो, ‘वेदर चेञ्ज’ का बेलामा । त्यसबापत उनीहरुले खेत–खेतमा गएर धान, गहुँ काट्नेबेलामा भाग पाउँथे ।’
उनले आफ्नै जीवनकालको पूर्वाद्र्धको उपत्यकाकै समाजको एउटा जनविश्वास शब्दमा चित्रण गरे, ‘लामाहरु बौद्ध स्तुपमाथि अग्लोमा चढेर (बाजा) फुक्थे । वेदर चेञ्ज गर्ने शक्ति थियो रे, उनीहरुसँग ! असिना पर्यो भने धान÷गहुँ सत्यानाश हुन्थ्यो । त्यसबाट जोगाएबापत धान, गहुँ काट्ने बेलामा खेत चहार्थे उनीहरु । केही भाग पाउँथे । पहिलेको वेदर फोरकास्ट थियो त्यो ।’
सात्यमोहन बाले यो बताइसकेपछि अन्तिममा प्रष्टीकरण दिए, ‘त्यो साइन्टिफिक होइन । मैले भनेको चाहिँ यस्तो लोककथन थियो भनेर । अहिले त पत्याउँदै पत्याउँदैनन् नि !’
१०० वर्षका उपत्यकाका हिउँद–वर्षा भोगेका विद्वान हुन् बा । उनको तीक्ष्णतामा कमी आएको छैन । अहिले आममान्छेले विश्वास गरिरहेको एउटा प्रश्न उनीसमक्ष राखिहालेँ, जो खसखस लागिरहेको विषय थियो । ‘डेढ महिनाको लकडाउनमा मान्छेले मिचेर विनाश गरेको वातावरण बिस्तारै आफ्नो लयमा फर्क्यो भन्छन् नि, होइन बा !’
उनले सहमति जनाएनन्, ‘चान्सको कुरा हो । प्रकृतिलाई दोष दिने कुरो आउँदैन । नेचर फक्र्यो भन्ने कहीँ रेकर्ड छैन । कति फोरकास्ट गरेको पनि मिल्दैन नि !’
संस्कृति र साहित्यमा लीन भएर देशविदेशका समेत अनुभव सम्हालेका व्यक्ति हुन् उनी । न्युजिल्याण्ड जाने पहिलो नेपाली सत्यमोहन बा हुन् ।
उनले १९९० सालको भुइँचालो, २०११ सालको बाढी, उपचार नै नभएको बेलाको टीबी, कुष्ठरोग, बीचमा फैलेको हैजाको महामारी, नेपाली समाजले व्यहोरेको औलो र त्यसको उन्मुलन सबै देखेका छन् जीवनकालमै ।
संसारले एकसाथ व्यहोरिरहेको कोरोनो महामारी र लकडाउनका सकारात्मक परिणतिबारे उनको धारणा के त ? एक सय हिउँद–वर्षा छिचोलेका सत्यमोहन बासँग दोहोर्याएर सोधेँ, ‘प्रकृति आफ्नो लयमा फर्केको होइन त्यसो भए ?
‘कति फोरकास्ट गरेको पनि मिल्दैन नि !’, प्रकृति आफ्नो लयमा फक्र्यो भन्ने आमविश्वासप्रति उनले विभति राखे, ‘त्यो नपत्याऊँ । म यतिबेला पत्याउँदिनँ यो कुरा ।’
उनले यसलाई व्याख्या गरे, ‘प्रकृतिले के बोल्छ र ? ऊ त जड हो नि ! कुनै एउटा गतिले चलिराखेको छ भन्ने मात्र हो । हामीहरुको जस्तो विभेद गर्दैन नि त, उसले । नेचर भनेको उम्रन्छ, फूल फुल्यो । त्यत्ति हो । यो नेचुरली हुन्छ । यसपालि काकताली प¥यो अब ।’
उनले जीवनकालकै भोगाइसँग जोड्दै भने, ‘१०० वर्षमा एकचोटी ठूलो भूकम्प हुन्छ भनेजस्तै हो यो । काकताली जस्तै । १०० वर्षमा ठ्याक्कै गएन । अझ बाँकी नै थियो । त्यस्तै हो । तैपनि लोककथनमा विश्वास गर्ने मान्छेका कुनै–कुनै कुरा ठीक–ठीक मिल्छ पनि ।’
लोककथनका अध्येता हुन् सत्यमोहन बा । उनले विज्ञानको विकासले मनसुन पूर्वानुमान क्षमता बढ्दै गएकोबारे उनी जानकार छन् । उनले भने, ‘त्यो बेलाको त्यस्तै थियो । हुँदा–हुँदा अहिले त वेदरको मात्र होइन, चट्याङ पर्ने पनि फोरकास्टिङ गर्न थालिसके । केही दिनअघि मन्त्री भन्दै थिए– चट्याङको पनि फोरकास्ट गर्ने । आजभोलि अनेक–अनेक किसिमको आइरहेको छ ।’
१०१ वर्ष लागेका सत्यमोहन जोशीले के सोच्छन् त ? उनले भने, ‘मुख्यकुरा त राष्ट्रको भलो होस् । राष्ट्रको उन्नति होस् । यस्तो किसिमको महामारी आइराखेको छ । यत्तिका सारा मान्छे मरिराखेको छ ।’
कोरोना महामारीले उपभोक्तावादले चरम गाँजेको र अत्यन्त व्यक्तिवादी हुँदै गएको स्वार्थी समाजलाई सकारात्मक पाठ सिकाएको शताब्दी पुरुषको निष्कर्ष रहेछ । उनले सुनाए, ‘दुई–चार वटा कुरा त उपलब्धि भो नि त ! कमसेकम तिमी र म, तँ र म, ठूलो र सानो भन्ने कुरो चाहिँ हरायो यसले । राष्ट्र त हाम्रै हो । नेपाल त हाम्रै हो ।’
लकडाउनका कारण घरमै थुनिनुपरे पनि सरकारले गरेको लकडाउनका कारण नेपाल मानवीय क्षतिबाट बचेकोमा उनी खुशी छन् । उनले भने, ‘सरकराले भनेको कुरा मान्नै पर्छ । अमेरिकाको जस्तो विजोग भएको भए ?! धेरै मान्छे मर्थे ।’
लकडाउनको सरकारी नियम पालना गर्नुपर्ने बताउँदै उनले भने, ‘केही दिन घरैमा बस्नुपरे तापनि नेपालीमा मुख्य कुरा सद्भावना आयो ।
सरकारप्रति कमिटमेन्ट आयो । सरकारले गर्यो । कुनै खराबी त भएन । सानो तलमाथिको कुरा, पार्टीको कुरा त्यो अलग्गै कुरा हो । त्यो उनीहरुको कुरा हो । त्यस्तो कुरा चाहिँ हामी नगरौँ ।’
विश्वव्यापी महामारीबाट जोगिन सकेकोबारे खुशी हुँदै भने, ‘जुन महामारी आयो, त्यो आउँदा खेरी पनि हामी बाँच्यौँ । सरकारले त्यसलाई रोकथाम गर्नमा, त्यसबारे सुसूचित गर्नमा काम गर्यो । सरकारको मान्यता भएको हुनाले अन्त लाखौँ मान्छे मर्न लागेको छ, हाम्रोमा चाहिँ जस्ताको तस्तै छ । एक जना पनि मरेको छैन ।’ उनले विदेशका विद्यार्थी ल्याउँदा पनि क्वारेन्टाइनमा राखेर सरकारले रोग फैलनबाट जोगाएर राम्रो काम गरेको मूल्याङ्कन सुनाए ।
सरकारले कडाइ गरेकोमा पनि उनले प्रशंशा गरे । लकडाउन पालना गराएकोबारे सत्यमोहन बाले भने ‘नमानेर जथाभावी गर्यो भने दुई घन्टा उभ्याएर भए पनि पालना गराए । कसको निम्ति, आफ्नै निम्ति ? राष्ट्रको निम्ति, जनताको निम्ति । नियम चाहिँ कडा भयो । सेक्युरिटी धेरै राम्रो भयो नि त !’
उनले मूल्यांकन गरे, ‘पहिले क्वारेन्टाइन कहाँ बस्ने भन्ने थियो । सरकाले क्वारेन्टाइन बनाए । इक्विप्मेन्ट आए । खकार जाँच्ने भयो । ज्वरो जाँच्ने भो । ट्रिटमेन्ट पनि जेजस्तो भए पनि औषधि उपचार गरेर मान्छे निको भएर गएकै छ । अन्त मरे पनि हाम्रोमा त्यस्तो भएन । अरुको दाँजोमा हाम्रो राम्रै भयो । राम्रो भयो भनेको त्यस्तो खराबी हुन पाएन ।’
सत्यमोहन जोशीको जीवनको एक मात्र अन्तिम इच्छा रहेछ नेपालीले नोबेल पुरस्कार पाएको हेर्ने । उनले भने, ‘म साहित्यमा लागेको मान्छे भएको हुनाले कमसेकम एकजना नेपाली मान्छेले नोबल पुरस्कार पायो भनेर सुनेर जान पाएको भए.... र त्यसमा एउटा गज्जबको किताब यसपालि छापियो र त्यसले नोबेल पुरस्कार पायो भन्ने सुन्न पाएको भए त्योभन्दा ठूलो आकांक्षा केही पनि होइन ।’ (उनको विचार, हेर्नुस् भिडियोमा)
त्यसको आकांक्षी उनी आफू हैनन् । अब यो लेख्नसक्ने क्षमता पनि आफूसँग नभएको उनले बताए । उनले भने, ‘मैले आफूले पाउने कुरा त छँदै छैन, हरायो । त्यो म सक्दिनँ । किनभने, त्यो इन्टरनेशनल ल्याङ्ग्वेजमा पठाउनुपर्छ । उपन्यासै लेख्यो भने पनि स्तरीय उसमा अंग्रेजी माध्यमबाट अन्तर्राष्ट्रिय भाषामा पठाउनुपर्छ । नेपालीमा पठाएको त्यो लिँदैन । एक जना मान्छे साहित्यिक किन नपाउने ?’
सत्यमोहन बाले भने, ‘त्यो पाओस् भन्ने इच्छा छ । त्यो सुन्न पायो भने आहा हुन्थ्यो । इच्छा चाहिँ त्यो हो ।’