ह्वाइट हाउसमा पनि मास्क प्रयोग सुरु, ट्रम्प अझै अटेरी

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

कोरोना भाइरसको संक्रमणको जोखिम महसुस गरेपछि ह्वाइट हाउसका अन्य कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न सुरु गरेका छन्। सार्वजनिक गरिएकाे एउटा तस्वीरमा ह्वाइट हाउसका कर्मचारीहरूले मास्क लगाएको देखिएको छ।

ह्वाइट हाउसकै कर्मचारीहरु पनि कोरोनो संक्रमित पाइएको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘एक जनामा पोजेटिभ देखिएको छ। आश्चर्य त यो छ कि एक दिन अगाडि नेगेटिभ पाइएको थियो। यो लुकेर बसेको दुश्मन हो। हामी चनाखो हुनुपर्छ।’

यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो। त्यसको तीन दिनपछि उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। संक्रमितको सम्पर्कमा आएपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारीहरु क्वारेन्टाइनमा छन्।

क्वारेन्टाइनमा बस्नेमा डा. फाउचीसहित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का निर्देशक डा. रोबर्ट रेडफिल्ड र फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) का आयुक्त स्टिफन हान रहेका छन्।

तर नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजले डा. फाउचीमा काेराेना संक्रमण भएको हुन सम्भावना भने न्यून रहेको बताएको छ।

ह्वाइटहाउसले आफ्ना कर्मचारीहरुलाई मास्क प्रयोग गर्न सूचित गरेको छ। तर, राष्ट्रपति ट्रम्प स्वयंमा भने यो अझै लागू भएको छैन। किनभने उनले मास्क लगाएको अझै देखिएको छैन।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकामा दैनिक एक लाख ५० हजारदेखि तीन लाख जनाको परीक्षण भइरहेको छ। सोमबारसम्म ९० लाखभन्दा बढीको कोरोना परीक्षण भइसकेको छ।

प्रकाशित मिति: : 2020-05-12 06:34:22

प्रतिकृया दिनुहोस्