'नेपालको वार्ता प्रस्ताव बेवास्ता गरियो'

 वसन्त खड्का

प्रमुख राजनीतिक दलका शीर्ष नेताले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै असन्तुष्टि जनाएका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिलगायतका नेताले आइतबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सीमाविवादको समाधान ठोस कूटनीतिक पहलबाट खोज्नुपर्नेमा जोड दिएका छन्।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदमले नेपालको सार्वभौमिकताको अवमूल्यन गरेको जनाएका छन्। भारतको पछिल्लो कदमप्रति आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाउँदै उनीहरुले कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला भारतले यस्तो कदम चालेको भन्दै दुःख व्यक्त गरेका छन्।

सुगौली सन्धिअनुसार महाकाली नदीले स्पस्टरुपमा सीमा छुट्याएको उल्लेख गर्दै अध्यक्षद्वयले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबीच भएको सहमतिको सन् २०१५ मै नेपाल सरकारले विरोध गरेको  स्मरण गराएका छन्। सरकारले सीमासम्बन्धी वार्ताका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक प्रस्ताव गरेको पनि उनीहरुले उल्लेख गरेका छन्। नेकपाले नेपाल सरकार र भारत सरकारलाई सीमासम्बन्धी समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-05-11 08:21:08

प्रतिकृया दिनुहोस्