अथातो जीवन जीज्ञासा।
परिवर्तनका यावत् अवस्था र अस्तित्वलाई स्वीकार गरेर निरन्तर चलायमान रहनु नै जीवन हो । भन्दछन्- चरैवेति चरैवेति चरन्वैमधुविन्दते । मूल अस्तित्वलाई मियो बनाएर समयले परिवर्तनको दाँइ हालिरहन्छ । जीवन र जीन्दगीको तात्विक या शाब्दिक भिन्नताहरु उती फरक नलागे पनि जीवनरुपी लामो यात्राको छोटो छोटो अवधि नै शायद जिन्दगी हो । जीवनभित्र हजारौँ जिन्दगीहरु आउन सक्छन् । सनातनताको विश्वासलाई लिएर चल्ने हो भने त “स्व”लाई नबुझेसम्म लाखौँ जिन्दगीहरु धारण गर्नुपर्ने हुन्छ । शायद स्वरुपको परिवर्तन पथहरुमा यत्रतत्र सर्वत्र कु–ब–कु आउँछ होला । जीवन नचलकिनै पनि त कट्न सक्छ नि। के स्थिरता को कुनै अस्तित्व छैन र ? के पूर्वको सबैभन्दा ठूलो पाठ धैर्य र स्थिरता–संयमता होइन? हो भने यो विरोधाभाष किन?
किन कि जीवन दुई विरोधाभाषी तत्वहरुको मध्यबाट चल्दछ । जस्तो कि नदीका दुई किनारा हुन्छन् । एक किनारा हुनु असम्भव छ । जीवन यही नदी हो । यही विरोधी तत्वहरुको बिचबाट सतत बग्दछ जीवन नदी । विकासवादले विरोधवाद या द्वन्द्ववादको वकालत गर्दछ र भन्दछ- विरोधबाट नै बन्दछ जीवन । पहिलो पुस्ताको निषेध दोस्रो पुस्ताले गर्दछ जसरी एउटै बाटोको विरोध विपरीत दिशाले गर्दछ । हरचीजहरु हरक्षण परिवर्तित छन् । मैले चलाइरहेको मोबाइल नै परमाणुहरुको त्यस्तो समूह हो जो निरन्तर विरोध र परिवर्तित छ र यी परमाणुहरु विस्तारै यसबाट छुट्टिँदै गैरहेका छन् र एकदिन यो जीर्ण र शीर्ण हुन्छ ।