मोक्का

वैशाखको महिना भए पनि लगातार परिरहेको पानीले जाडोको महसुस गराईरहेको छ। घर बस्न पटक्कै मन लागेन। भिजेरै भए पनि कतै गएर एक्लै बस्न मन लाग्यो। छुट्टिको दिन के गरेर बसुँ एक्लै कोठामा? यस्तै सोच्दा सोच्दै बाईक निकालेँ अनि बौद्धतिर लागेँ। आज त बाटोमा पनि जाम छैन। बाटो पनि अन्य दिनभन्दा सुनसान छ ठ्याक्कै मेरो जिन्दगी जस्तै। बाईक बिस्तारै हाँके अनि गएर बौद्धको एउटा क्याफेमा रोकेँ। अरू केही खाने ईच्छा भएन। वेटरले मेरो नजिक राखिदिएको मेनु उसैलाई फिर्ता गरिदिएर एक कप मोक्का मगाएँ। यो मोक्का पिउने बानी पनि उसैले लगाएकी हो। विस्मिताले।

***

‘बाबु अब त विवाह गर्। पढाई पनि सकियो। भने जस्तो काम पनि पाईसकिस् अब केको लागि पर्खिनू?’ आमा बारम्बार भनिरहनुहुन्थ्यो। आमाको कुरा सुनेर म जिस्काउँदै भनिदिन्थेँ, ‘पर्खनु न आमा मेरो लागि सुहाउँने केटी यो संसारमा जन्मेकै छैन।’ दाइको विवाह भएर पनि दुई छोरा र एक छोरी भईसकेका थिए। आमा मलाई ‘विवाह गर्’ भन्दाभन्दा थाकेर भन्नै छोडिदिनु भएको थियो।

बुवाले छाडेर गएपछि आमाले हामीलाई निकै दुःख गरेर हुर्काउनुभयो। हामीलाई बुवाको कमी कहिल्यै महसुस हुन दिनुभएन। बुवाको मृत्युपछि घरमा सहयोग होस् भनेर मैले कलेज पढ्दै स्कूल पढ्ने साना साना विद्यार्थीलाई ट्यूसन पढाउन पनि सुरू गरेँ। जसले गर्दा आमाले मेरो पढाईको खर्चको बोझ उठाउन परेन। दिनहरू ठिकै बित्दै थिए।

एकरात खाना खाईसकेर सुत्ने बेलामा आमालाई अचानक हृदयघात भयो। कहिल्यै कुनै रोगले थला पार्न नसकेको मेरी आमालाई हृदयघातले एकैछिनमा संसारबाट लिएर गयो। त्यसपछि पूरै संसार शून्य भयो। दाइ र म टुहुरो भयौं। दाइको त जे जस्तो भए पनि माया गर्ने परिवार थिए। तर मेरो? मेरो कोही थिएन। मलाई आमाको कुरा बेलैमा नमानेकोमा ठूलो आत्माग्लानी भयो। आमाको कुरा मानेर मैले विवाह गरेको भए आमाले मर्नुअघि कमसेकम मेरो परिवार हेर्न पाउनुहुन्थ्यो। उहाँको ईच्छा पूरा गर्न नसकेकोमा मैले दोषी मानीरहेँ आफूलाई।

राजविराजमा हुर्केर पढे पनि काठमाडौंमै जागिर खाने ठूलो धोको थियो मेरो। मलाई दाइ र भाउजुसँगको सुमधुर सम्बन्धलाई बिगार्नु थिएन। २५ वर्षको उमेरमा पहिलोपटक मैले काठमाडौंमा पाईला टेकेँ। त्यसपछि सुरू भयो मेरो संर्घषका दिन। हुन त यहाँ मेरो केही नातेदारहरू छन्। तर पनि मलाई कसैलाई दुःख दिन मन लाग्दैन। महिनामा एक दुई पटक फूपूकहाँचाहीँ जान्छु त्यति हो।

मेरी फूपू, मेरो बुवाको सानो बुवाको छोरी। हाम्रो बुवाको तीन जना दाजुभाइ हुनुहुन्थ्यो। बुवा माईलो हुनुहुन्थ्यो। बुवाको दाइ र भाइ अझै हुनुहुन्छ। हाम्रो बुवालाई मात्रै निस्ठूरी कालले कलिलै उमेरमा लिएर गयो। सानो हजुरबुवाको छोरी सीमा फूपूलाई अरूबेला नभेटे पनि हरेक तिहारमा मैले भेट्ने गरेको छु।

आमाको मृत्युपछि मलाई फूपूले पनि आमा जतिकै माया दिनुभयो। उहाँलाई पनि आमालाई झैं मेरो विवाहको चिन्ता हुन्थ्यो। त्यसैले एकदिन फोन गरेर भन्नुभयो। ‘प्रताप, मैले तेरो लागि केटी हेरेको छु अब चाहीँ विवाह गर्नपर्छ है। शनिबार खान खाने गरेर आईज,’ उहाँको आग्रह नकार्न नसकेर शनिबार म उहाँको घर गएँ।

फूपू, फूपाजु र दुई बहिनी छन् त्यहाँ। बहिनीहरु पढाई सकेर कामको खोजीमा छन्। फूपाजु आफ्नै बिजनेस गर्नुहुन्छ। फूपूचाहीँ घरमै बस्नुहुन्छ।

फूपूको ठूलो कम्पाउण्डमा बाईक पार्क गरेर ढोकाबाट भित्र छिर्न के लागेको थिएँ कसैसँग म ठोक्किएँ। आँखा उठाएर हेरेँ। ठूलाठूला आँखा र गोरो मुहार, आँखाको माथिपट्टि गाजल। हेर्दा निकै आर्कषक र सुन्दर देखिएकी उसले ‘सरी’ भन्दै गेट बाहिर निस्की, म भित्र पसेँ।

फूपूलाई धेरै दिनपछि भेटेको थिएँ। उहाँले धेरै दिनदेखि साँचेर राख्नुभएको दुःख सुखको कुरा गर्नुभयो अनि कुरैकुरामा केही सम्झेँ झैं गरेर मलाई भन्नुभयो। अँ अनि अघि भर्खरै तँसँग ढोकामा ठोकिएकी केटी कस्तो लाग्यो त?,’ मैले अक्मकिँदै केही थाहा नपाए झैं गरेर भनेँ। ‘को केटी दिदी?’ फूपूले हाँस्दै भन्नुभयो, ‘मैले तेरो विवाहको लागि हेरेको केटी ऊ नै हो।’

फूपू र मेरो कुरा सकिन नपाउँदै अघि गेटमा जम्काभेट भएकी केटी त्यहाँ आई। उसको नाम विस्मिता रहेछ। फूपूले मलाई उसँग औपचारिक परिचय गराउनुभयो। बोल्दै जाँदा सबैकुरा राम्रो लाग्यो। त्यसपछि एक अर्कालाई बुझ्ने अनि मात्रै अघि बढ्ने प्रण गरेर मैले फूपूसँग विवाहको लागि एक वर्ष समय मागेँ।

घरमा दाइलाई फोन गरेर विस्मिताको बारेमा भनेँ। दाइले हच्किँदै भन्यो, ‘हामी तराईको मान्छेले पहाडको केटी विवाह गर्नुहुँदैन। उनीहरुलाई तराईको रहनसहन थाहा हुँदैन। पछि यही कारणले समस्या आउनसक्छ,’ दाइको कुरा ठिकै हो जस्तो लाग्यो।

 विस्मिता मेरो धेरै ख्याल राख्थी। मलाई माया गर्थी। तर उसले जति माया गरे पनि म उप्रति आर्कषित हुन सकिनँ। उसले पटकपटक फोन गर्दा म मुस्किलले उसको फोनको जवाफ फर्काउँथें। अनुहार हेर्दा राम्रै थिई। बानी त्योभन्दा कयौं गुणा राम्रो थियो। अरू के खोजिरहेको थिएँ म उसमा? विस्मिताले जति मेरो ख्याल राख्थी त्यति म उसको ख्याल राख्न सक्दिनँ थिएँ। थाहा छैन मलाई के ले रोकिरहेको थियो।

हामीले एकअर्कासँग धेरैपटक भेट्यौं। कहिले क्याफेमा भेट्यौं, कहिले फिल्म हलमा। हरेक पटक उसलाई मैले क्याफेमा लिएर जाँदा ऊ एक कप मोक्का कफी मात्रै पिउँथी, त्यो बाहेक अरू केही खाँदिन थिई। मैले त उसलाई भेट्नुभन्दा अगाडि त्यो कफीको नाम पनि सुनेको थिईनँ, पिउने कुरा त परै जाओस्। उसलाई भेट्न थालेदेखि नै हो मैले मोक्का पिउन सिकेको।

दाइको अनुमति नपाएकाले होला ऊ जति मेरो नजिक आउन खोजे पनि म उसको नजिक हुन सकिनँ। एक वर्ष उसँग संगत गरिसक्दा पनि उसलाई आफ्नो बनाउने र विवाह गर्नेकुरा सोच्न सकिनँ। उसलाई चोट पूर्‍याउने मेरो कुनै उद्धेश्य थिएन। तर उसलाई म धोकामा राख्न चाहन्न थिएँ। त्यसैले मैले उसलाई त्यसदिन म्यासेज गरेँ, ‘मलाई माफ गरिदेउ विस्मिता म तिमीसँग विवाह गर्न तयार छैन। म मेरो दाइको विरूद्ध जान सक्दिनँ,’ मेरो म्यासेज पाएपछि उसले लगातार फोन गरी, मैले उठाईनँ अनि फोन उठाउन अनुरोध गरेर सय वटा भन्दा बढी म्यासेज गरीरही मैले वास्तै गरिनँ।

फूपूलाई मैले भेटेर विस्मितासँग विवाह गर्न नसक्ने कुरा बताईदिएँ। फूपू मेरो कुरामा सहमत हुनुभयो। सायद उहाँ आफैं चाहनुहुँदैंन थियो कि, विस्मिता र मेरो विवाह होस्। उहाँको अनुहारको भावले मलाई त्यही कुरा बताईरहेको थियो। उहाँ किन चाहनुहुँदैंन थियो, भन्ने मलाई थाहा थिएन र मैले जान्ने कोशिश पनि गरिनँ। म आफ्नो निर्णयमा अडिग थिएँ कि, ‘म अब विस्मितासँग अघि बढ्न सक्दिनँ।’

फूपूले एकछिनसम्म सोचेर भन्नुभयो, ‘ठिकै छ विस्मितासँग विवाह नगर् केही छैन। तर अरू कसैसँग त गर्। म अर्को केटी खोज्छु।’ म केही नभनी फूपूको घरबाट निस्केँ।

त्यसदिनदेखि फूपूको घरमा मेरो आवतजावत कम भएको छ। साह्रै जरूरी काम पर्दा जान्छु नत्र जाँदिनँ। उहाँले पनि पहिला जस्तो फोन गर्नुहुन्न। पहिला म उहाँको आँखाको नानी झैं थिएँ, अहिले आँखाभित्र पसेको परेला झैं भएको छु जो उहाँलाई बिझाईरहन्छ।

अगाडि टेबलमा भएको मोक्का सेलाईसकेछ। वेटरलाई फेरि अर्को एक कप मोक्का अर्डर गरेँ। मोक्का पर्खेर बसिरहेको थिएँ कसैले पछाडिबाट बोलायो, ‘ओए प्रताप के छ खबर?’ टाउको घुमाएर हेरेँ, सुरूमा काठमाडौं आउँदा एउटा कम्पनीमा सँगै काम गरेको साथी विधान्त रहेछ।

उसले मलाई अंकमाल गर्दै भन्यो, ‘कति वर्षपछि भेट भयो हगि , के गर्दै छस् आजभोलि, कुन अफिस जोएन गरिस्? कतिबेला आएको?’ उसको प्रश्नले मलाई सोच्न बाध्य गरायो। ‘ओहो! भन्न पनि लाजै लाग्ने कुरा। आएको तीन घण्टा भईसक्यो अहिलेसम्म एक कप कफी पनि पिएको रहेनछु एउटा कफि मात्रै मगाएको थिएँ त्यो पनि के के सोच्दा सोच्दै सेलाएर अर्को मगाउन पर्‍यो।

‘म माथि रूफ टपमा थिएँ, त्यसैले तँलाई नदेखेको रहेछु,’ उसले भन्दै थियो। अचानक मुटुको धडकनले तीव्र गतीमा चल्न थाल्यो। मुख तात्यो। हात खुट्टा गले झैं भयो। ‘छिटो हिँडिस्यो न ढिलो भईसक्यो,’ रातो कुर्तामा रातो पोते, सिन्दुर अनि रातो चुरा लगाएको नयाँ बेहुलीको आकृति आँखा अगाडि आयो। ‘उनी मेरी श्रीमती विस्मिता।’ विधान्तले मलाई चिनायो।

‘विवाह भएको भर्खरै दुई महिना भयो। तेरो फोन नम्बर चेन्ज भएपछि तसँग मेरो कन्ट्याक्ट नै हुन सकेन त्यसैले विवाहमा बोलाउन पाईनँ,’ मैले केही जवाफ फर्काइनँ।

आँखाले जे देख्यो त्यसलाई विश्वास गर्न सकिनँ। जुन केटीलाई मैले कहिल्यै चाहिनँ उसलाई विवाहित देखेर किन छट्पटाईरहेछ मेरो मन? उसको सिउँदोमा अरू कसैको नामको सिन्दुर देखेर किन जलन भयो मलाई?

मलाई देख्नासाथ विस्मिताको पनि आँखा रसायो। औपचारिकताको लागि मैले दुई हात जोडेर नमस्ते गरेँ, अनि मनमनै माफी मागेँ, ‘विगतमा तिमीलाई मेरो कारणले जे जति चोट सहनुपर्‍यो त्यसको लागि माफ गरिदेऊ विस्मिता।’

न मैले बोल्न सकेँ, न उसले बोल्न सकी। मैले त उसँग आँखा पनि जुधाउन सकिनँ। वेटरले दोस्रो कप मोक्का ल्याएर टेबलमा राखिदियो। पिउन पनि मन लागेन।

हामी तीन जना सँगै बाहिर निस्कियौं। उ विधान्तसँग गाडीमा बसेर गई, म एक्लै बाईकमा घर फर्केँ। होटलबाट निस्किनु अगाडि टेबलमा वेटरले ल्याएर राखेको मोक्काले मलाई जिस्काईरहेको थियो।

प्रकाशित मिति: : 2020-05-09 11:45:00

प्रतिकृया दिनुहोस्