सांसद यादवद्वारा पिपिई तथा आवश्यक सामग्री वितरण

वीरगञ्जमा कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि सांसद प्रदीप यादवले नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) पिपिई सेट प्रदान गरेका छन्। 

सांसद यादव आज बिहीबार आफ्नो निवासमै बोलाएर चिकित्सक एवं कोरोना उपचारका कोर्डिनेटर  डा. उदय नारायण सिंहलाई पिपिई सेट हस्तान्तरण गरेका हुन्। 

वीरगञ्जमा बुधबार १७ जनामा थप कोरोना संक्रमित पुष्टि भएपछि नारायणी अस्पतालमा उपचाररत कुल कोरोना संक्रमितको संख्या २८ पुगेको छ। जिल्लामा कोरोना संक्रमित बढेसँगै निरन्तर संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थयकर्मीहरु संभावित जोखिमबाट बचुन भन्ने उदेश्यसहित पिपिई सेट वितरण गरेको सांसद यादवले बताए।

त्यसै गरी अहिले वीरगन्ज क्षेत्रमा परिचालित रहेका १० वटा एम्बुलेन्सका चालकलाई यादवले आवश्यक सुरक्षा सामग्री वितरण गरेका छन्। प्रत्येक एम्बुलेन्स चालकलाई पिपिई ड्रेस, गम बुट, पञ्जा, क्याप चस्मा र सेनिटाइजर उनले उपलब्ध गराएका हुन।

बुधबार (हिजो) मात्रै वीरगञ्जका एकै परिवारको १७ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोनाको उच्च जोखिममा रहेको वीरगञ्ज कोरोना फैलिन नदिन आवश्यक पर्ने हरेक सामग्री उपल्ब्ध गराउन आफू तत्पर रहेको सांसद यादवले बताए।

‘पर्साबासीको लागि मात्रै होइन, देशका सम्पूर्ण जनतालाई कोरोना जस्तो भ्यावह महामारीबाट जोगाउन चिकित्सकहरुले निर्वाह गरिहेको भूमिका समस्त देशबासीकै लागि कल्याणकारी छ,’सांसद यादवले भने,‘कोरोना विरामी चेकजाँच गर्ने चिकित्सकलाई सुरक्षाका निम्ति सम्पूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउन संघीय सरकारसँग माग गर्दछु।’

कोरोना भाइरसको लडाईमा आम सर्वसाधारण जनता सजगताका साथ यसबाट बच्ने हरेक उपाय अपनाई यसको रोकथाम गर्ने जनताको पनि उतरदायि भूमिका खेल्नु पर्ने सांसद यादवको भनाई छ। 

प्रकाशित मिति: : 2020-05-07 15:38:20

प्रतिकृया दिनुहोस्