सरकारसँग राजदूत आचार्यकाे आग्रह: भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाऔं

बिएल संवाददाता

नयाँदिल्ली

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत आचार्यले प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन कष्टकर बन्दै गएकाले स्वदेश फर्किन चाहनेलाई सरकारले सहयोग गर्नुपर्ने बताएका हुन्। 

‘लकडाउन र नेपाल—भारत सीमाबन्दको अहिलेको अवस्थामा भारत प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन बढ्दो कष्टकर बन्दैछ,’ उनले भनेका छन्,‘विपत्को यो समयमा नेपाल फर्कन चाहनेहरूलाई फर्कने सुरक्षित वातावरण बनाउनुपर्छ।’

साथै उनले महामारीको अन्तय नहुँदासम्म कष्टकठिनाई कम गर्ने प्रयास बढाउन आफू सजग रहेको बताएका छन्। 

लकडाउन र नेपाल-भारत सीमाबन्दको अहिलेको अवस्थामा भारत प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन बढ्दो कष्टकर बन्दैछ। विपतको यो समयमा नेपाल फर्कन चाहनेहरूलाई फर्कने सुरक्षित वातावरण बनाउनुपर्छ।
सो नहुँदासम्म कष्टकठिनाई कम गर्ने हाम्रा प्रयास बढाउन हामी सजग छौं।

यसअघि मंगलबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले राजदूत आचार्यले नेपाली नागरिकको पीडा नबुझेको भन्दै असन्तुष्टि जनाएका थिए।

उनले लाखौं नेपालीहरू रहेको भारतमा सक्रिय, भविष्य भएको र आफ्ना नागरिकको पीडा बुझ्ने राजदूत नभएको दुखेसो गरेका थिए। 

भारत सरकारले गरेको लामो बन्दाबन्दीको मारमा धेरै नेपाली कामदारहरु परेका छन्। उनीहरुको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ। 

भारतले गोवामा रहेका विदेशी कामदारहरूलाई फिर्ता पठाउने तयारी थालेको छ।

त्यहाँ रहेका नेपाली कामदारहरूलाई पनि फर्काउने तयारी भइरहेको मुख्यमन्त्री प्रमोद सावन्तले जनाएका छन्।

मुख्यमन्त्री सावन्तले स्वदेश फर्कन चाहने नेपालीहरुलाई दिल्लीस्थित नेपाली दूतवासमा नाम दर्ता गर्न आग्रह गरिसकेका छन्।

भारतको केन्द्र सरकारले यसअघि नै कुनै देशले आफ्ना नागरिक फिर्ता लिन चाहे आफूले सहयोग गर्ने बताइसकेको छ। पछिल्लो समय भारतका विभिन्न सहरबाट रेलमा आप्रवासी कामदारलाई फर्काउने क्रम चलिरहेको छ।

भारतबाट नेपाली कामदार फिर्ता ल्याउनेबारे अन्तिम निर्णय भने नेपाल सरकारले गर्नुपर्छ। सरकारले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।

 

प्रकाशित मिति: : 2020-05-07 07:57:05

प्रतिकृया दिनुहोस्