गौतमबुद्धले देखाएको सद्मार्ग सबैका लागि अनुकरणीय: उपराष्ट्रपति पुन

बिएल संवाददाता

काठमाडाै‌ं

उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताएका छन्। 

२५६४ औँ बुद्ध जयन्तीका अवसरमा बिहिबार शुभकामना दिँदै उनले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन्। 
 
कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिङ्गो मानव समुदाय एकताबद्ध हुन र धैर्य गर्न आवश्यक रहेको भन्दै उनले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको कठिन परिस्थितिमा गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक बनेको उल्लेख गरेका छन्। 

उपराष्ट्रपतिले गौतमबुद्धले दिएको उपदेशलाई हृदयङ्गम् एवं आत्मसात् गर्न सकिएमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्नुका साथै राष्ट्र तथा विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गरेका छन्। 
 
यसैगरी आजै परेको किराँत समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा)को ठूलो पर्व उभौली तथा चण्डी पूर्णिमाको अवसरमा शुभकामना दिँदै उहाँले देश विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

उपराष्ट्रपतिले बुद्ध जयन्ती र उभौली पर्वले कोरोना भाइरविरुद्ध लड्न तथा शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन्।  

प्रकाशित मिति: : 2020-05-07 06:54:00

प्रतिकृया दिनुहोस्