१७ संक्रमित भेटिएपछि वीरगञ्जका विभिन्न क्षेत्र सिल, लकडाउन अझै कडा पारिने

वीरगञ्जमा बुधबार एकै दिन १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले संक्रमित भेटिएको क्षेत्र सिल गरेको छ।

बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुुरक्षा समितिको बैठकले वीरगञ्ज महानगरपालिकाको छपकैया क्षेत्र र वरपरका केही क्षेत्र सिल गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक , सर्सिया पुल चौक र सिर्सिया भन्सार सिल गरिएको छ।

यस्तै उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, युक्तिसुधार केन्द्र र  बहिपुल सिल गरिएको छ।

यता दक्षिणतर्फ महानगरपालिकाको वडा नम्बर १ र २ का मित्र राष्ट्र भारतसँग सीमा जोडिएका क्षेत्रसहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गरिएको छ। यसका साथै सम्भावित जोखिमबाट जोगाउन लकडाउन अझै कडा पार्ने निर्णय गरिएको छ।

बैठकले पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा बिहान ५ बजेदेखि साँझ ७ः३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन  चल्न दिने निर्णय गरेकाे छ।

तर, अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरु (साइकल, मोटरसाईकल, टेम्पो, रिक्सा, बयलगाडा, टांगा, बस, ट्रक, ट्रिपर, ट्याक्टर आदि) सञ्चालन, प्रयोग गर्न भने पूर्ण रुपमा निषेध गरिएकाे छ।

यता कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरुको ढुवानी भने सरकारको निर्णय अनुसार नै गर्न दिने प्रजिअ कार्कीले बताए। उनले यसका लागि पासको आवश्यकता नपर्ने बताए।

उनका अनुसार औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरलाई बाहिर निस्कन निषेध गरिएको छ। 

त्यस्तै कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्ट्याक्ट ट्रेसिङ गरी चेकजाँच तीब्र पार्ने निर्णय पनि गरिएकाे  छ।

प्रकाशित मिति: : 2020-05-06 21:13:43

प्रतिकृया दिनुहोस्