माल्भिका सुब्बा लकडाउन सुरू भएदेखि होइन, त्योभन्दा एक साता अगाडिदेखि घरबाट निस्किएकी छैनन्। लामो समयदेखि घरै बसिरहँदा उनको दिनचर्या त फेरिएकै छ, त्यो दिनचर्याको उनलाई आदतसमेत परिसकेको छ।
यसो भन्दैमा, लकडाउनअघि उनी जे गर्थिन्, त्यसबाट पूरै हात झिकिसकिन् भन्ने होइन। उनी पुराना सबै काम घरै बसेर सम्हालिरहेकी छन्। तर, पहिले कामको व्यस्तताबीच परिवार र साथीभाइसँगको आत्मीय क्षण छुटेको थियो, हिजोआज लकडाउनले त्यसलाई पनि जोडिदिएको छ।
'परिवार र साथीभाइसँग धेरै समय बिताउन पाएकी छु। व्यस्तता भने पहिलेभन्दा खासै फरक छैन,' लकडाउन अनुभव सुनाउँदै पूर्व मिस नेपाल माल्भिकाले सेतोपाटीसँग टेलिफोन वार्तामा भनिन्, 'लकडाउनले परिवारसँग थप नजिक बनाएको महशुस हुँदैछ।'