‘मानिसको जस्तै जनावरको भोक पनि हामीले बुझ्नुपर्छ’ (भिडियाे)

लकडाउनमा भोकै छाडा पशु चौपायालाई खाना खुवाउने युवा अभियान

करीब डेढ महिनाको बन्दाबन्दीले अहिले मानव जीवन तहसनहस भएको छ। दैनिक कामकाज ठप्प छन्। जसको प्रत्यक्ष असर सडकमा छाडा छोडिएका पशु चौपायामा पर्न थालेको छ।

लकडाउनका कारण होटल, खाजाघर तथा मासु पसलहरू बन्द भएपछि सडकमा छाडा रहेका दर्जनौं चौपाया खान नपाएर भोगभोगै भएका जनावरलाई वीरगन्जका युवाले खाना खुवाउने अभियान सुरू गरेका छन्।

लक डाउनले चोक बजारमा मानिसहरूको चहलपहल नभए सँगै दर्जनौं संख्यामा सडकमा हिँड्ने गाई, गोरू, कुकुरलगायत पशु चौपाया र चराचुरूङ्गीलाई वीरगन्ज युवा समाजका युवाले खानाको व्यवस्था गरेका छन्।

सडकमा छाडा छोडिएका भोकभोकै हुने पशु र कुकुरलाई हामी सडकमै पुगेर खाना दिन थालेको समाजका अध्यक्ष कमल चौगाईले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनले वीरगन्ज महानगर भित्रका बिभिन्न सडकमा रहेका जनावर तथा चराचुरुङ्गी भोकै बस्नु नपरोस् भनेर खाना खुवाउने अभियान सुरु गरेका जानकारी दिए।

‘अहिलेको समयमा जनावरहरूलाई धेरै गाह्रो छ। मानिसको भोक जस्तै जनावरको भोक पनि हामीले बुझ्नुपर्छ। जसकारण हामी युवाहरु मिलेर खाना खुवाउने अभियान नै सुरु गरेका हौ’, चौगाईले भने, ‘हामीले समाजको ध्यानाकर्षण गराउन पनि यो अभियान सुरु गरेका हौ। जनावर नबोल्ने प्राणी भएकाले हामीसले उनीहरुको भावना र समस्या बुझिदिनुपर्छ।’

वीरगगन्ज युवा समाजले एक सातादेखि खाना खुवाउने अभियान सुरू गरेको उनले जानकारी दिए। दिनहुँ बिहान बेलुका खाना तयार गरेर समाजमा आवद्ध सुलभ केसी, हेमन्त तामाङ, अनुप अग्रवाललगायत युवाहरू सडक सडक र चोक चोकमा पुगेर आहारा दिने गरेका छन्।

समाजका सचिव हेमन्त तामाङका अनुसार, अहिलेको यो विपत्तिमा मानव जातिसँगै जनावर पनि भोकले छट्पटाई रहेका हुन्छन् त्यसैले भोकले भौतारिएका पशुले मान्छे टोक्ने र हिंस्रक बन्दै गएका छन्। यस्तो अवस्थामा मानिसले मानिसलाई मात्र नभएर हरेक जिवित प्राणीको भोक मेटाउने एउटा सानो प्रयास आफूहरूले गरेको तामाङले बताए।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2020-05-06 14:50:00

प्रतिकृया दिनुहोस्