पाकिस्तानी एयरफोर्सको इतिहासमा एक हिन्दु पहिलो पल्ट पाइलट बन्न सफल भएका छन्। उनको नाम हो, राहुल देव। उनी सिन्ध क्षेत्रबाट प्रतिनिधित्व गर्छन।
राहुल पाकिस्तानी एयरफोर्सको दोस्रो सदस्य हुन्। यसअघि एयर कमोडोर बलवन्त कुमार दास पाकिस्तानी एयरफोर्समा भर्ती थिए तर उनी एयर डिफेन्सको सदस्य भने थिएनन्। उनको काम जमिनमै सिमित थियो।
राहुल जनरल ड्युटी (जिडी) पाइलट भर्ती भएका थिए। यसको अर्थ हुन्छ, उनी कुनै पनि एयरक्राफ्ट उडाउन सक्षम छन्, यद्धपि त्यो ट्रान्सपोर्ट होस् वा फाइटर प्लेन। पाकिस्तानी एयरफोर्समा जिडी पाइलटको भूमिकालाई प्रमुख मानिन्छ।
पाकिस्तानको रिसालपुरमा गत अप्रिल १६ तारिखमा भएको पाकिस्तानी एयरफोर्स एकेडेमीको ग्य्राजुएसन समारोहमा १ सय ४३ जिडी पाइलट, ८९ इन्जिनियर र ९९ एयर डिफेन्स पासआउट भएका थिए। जसमा राहुल पनि समावेश थिए।
पाकिस्तानी वायुसेना प्रमुख मुजाहिद अनवर खानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको बारेमा जानकारी दिँदै एकेडेमीका प्रधानाध्यापक रफिक अहमद खोखरले ट्वीटमार्फत जानकारी दिँए– ‘पाकिस्तानी सेनामा अल्पसंख्यकको उपस्थितिको अर्को नमुना।’
पछिल्लो समय पाकिस्तानी सेनामा अल्पसंख्यक हिन्दु र शिखहरूको भर्ती हुने संख्या बढेको छ। सन् २००० सम्म पाकिस्तानी सेनामा हिन्दुलाई प्रवेश निषेध गरिएको थियो। जर्नेल परवेज मुशर्रफले राजनीतिक ‘कू’ गरेपछि उनको सैनिक सत्तामा पहिलो पल्ट हिन्दुलाई सेनामा समावेश गरिएको हो। २००६ मा क्याप्टेन दानिश पाकिस्तानी सेनाको पहिलो हिन्दु अफिसर बनेका थिए।
राहुलको एयरफोर्समा भर्तीको अर्थ विशेष छ। उनी सिन्धको निकै पछाडि परेको गाउँ थरपरकरबाट प्रतिनिधित्व गर्छन।
सिन्धको भित्री भागमा हिन्दुको ठूलो उपस्थिति छ। यही क्षेत्रबाट चुनिएर केही वर्षअघि महेश मलानी सांसद भएका थिए। उनी चुनाव जितेर पाकिस्तानी संसदमा प्रवेश गर्ने पहिलो हिन्दु सांसद हुन्।
पाकिस्तानी सेनामा कैजाद सुपारी पहिलो गैरमुस्लिम थिए, जो पाकिस्तानी सेनाको जर्नेल बने। उनी १९६५ देखि १९७१ सम्म थुप्रै युद्धमा सहभागी भएका थिए। एयर कमोडोर वलवन्त कुमार दासले पनि १९४८ देखि १९६५ सम्म केही युद्धमा भाग लिए।
पाकिस्तानी सेनामै रहँदा अर्का हिन्दु अशोक कुमार सन् २०१३ मा वजिरीस्तानमा खटिएको बेला शहीद भए। उनलाई तमगा–ए–सुजातबाट सम्मानित गरिएको थियो।
हैदराबादका डाक्टर कैलाश गरवडा पनि पछिल्लो वर्ष पहिलो हिन्दु मेजर बनेका थिए। उनले युगान्डा, इजिप्ट, दुबई, स्पेन, फ्रान्स, नेदरल्यान्ड, बेल्जियम, इटाली र स्विट्जरल्यान्डमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन्। ३६ दिन के–२ को इन्डो–पाक सीमास्थित बाल्त्रो सेक्टरमा खटिएका कैलाशलाई पाकिस्तान सरकारले तगमा–ए–दफाबाट सम्मानित गरेको थियो।
यस्तै मेजर हरचरण सिंहले सन् २००७ मा पहिलो शिख अफिसर बनेर पाकिस्तानी सेनामा इतिहास रचेका थिए। ननकाना साहिबमा १९८६ मा जन्मिएका हरचरणले पाकिस्तानी सैन्य एकेडेमीबाट पासआउट हुँदा भनेका थिए, ‘यो मेरो लागि गर्वको कुरा हो। पगडी लगाएको सरदार बलूच रेजिमेन्टको ब्याचमा उभिँदा गौरव महसुस गरिरहेको छ।’
पाकिस्तानको कूल जनसंख्या २२ करोड छ। जहाँ ८० लाख हिन्दु बसोबास गर्ने गर्छन। सबैभन्दा बढी हिन्दु सिन्ध प्रान्तमा छन्। यहाँ कूल जनसंख्याको ९४ प्रतिशत मानिस हिन्दु रहेको बताइन्छ।
यस्तै, पाकिस्तानी सेनामा १२ लाख ४० हजार सैनिक समावेश छन्। जसमा ६ लाख सक्रिय छन् भने बाँकी रिजर्भ सेनामा। तर, सेनामा हिन्दुहरूको उपस्थिति एक सयभन्दा कम रहेको बताइन्छ।