कोरोना संक्रमणबाट बेलायतका अग्रज समाजसेवी गुरुङको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बेलायतमा थप एक नेपालीको ज्यान गएको छ।

नेपाली समुदायका एक अग्रज समाजसेवी ७५ वर्षीय पूर्व गोर्खा  नारायण कोन्मे गुरुङको मृत्यु भएको हो।

गुरुङको सोमबार अपरान्ह सवा ४ बजे ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा मृत्यु भएको उनका आफन्त समेत पर्ने नेपाली समाज यूकेका अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्र गुरुङले  जानकारी दिए।

उनका अनुसार स्वर्गीय गुरुङमा अस्पतालले कोरोनाको संक्रमण पुष्टी गरेको हो। यसअघि कुनै ‘मेडिकल कन्डिसन’ नभएका गुरुङलाई श्वासप्रश्वासमा समस्या भएपछि अप्रिल २६ तारिखमा अस्पताल भर्ना गरिएको थियो।

पर्वत जिल्लाको थाना, मौला स्थायी घर भएका स्वर्गीय गुरुङ परिवारसहित बेलायत बस्दै आएका थिए । उनका पत्नी, दुई छोरा र एक छोरी सबै बेलायतमै छन् । एक छोरा रेडिङमा छन् भने अर्का छोरा र छोरी ननिटनमै बस्दै आएका छन्।

सामाजिक रुपमा समेत क्रियाशिल स्वर्गीय गुरुङ बेलायतस्थित विभिन्न संघसंस्थामा आबद्ध थिए । एनआरएनए यूके, तमुधिं यूके जस्ता संस्थामा सल्लाहकार रहेका उनी चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक र वर्तमान संरक्षक हुन् । चारभञ्ज्याङ तमु समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङ बेलायतस्थित कोने (घोताने/घोण्डे) समाज यूकेका संस्थापक वरिष्ठ सल्लाहकार थिए ।

यता बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म कमसेकम ४९ जना नेपालीको मृत्यु भइसकेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको स्वास्थ्य समितिमार्फत जारी तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा ४९ जना नेपालीले कोरोनाबाट ज्यान गुमाएको देखिएको हो।

लण्डनस्थित नेपाली दूतावासले भने हालसम्म बेलायतमा कोरोनाबाट ३६ जना नेपालीको मृत्यु भएको पुष्टी गरेको छ ।

एनआरएनए यूकेले संकलन गरेको तथ्यांकका आधारमा बेलायतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेमध्ये क्षेत्रगत रुपमा सबैभन्दा बढी ग्रेटर लण्डनमा २७ जना छन् । त्यस्तै, साउथ ईष्ट इंग्ल्याण्डमा ११ जना, मिडल्याण्डमा ८ जना र साउथ वेस्ट इंग्ल्याण्डमा ३ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये करिब तीन दर्जन भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य रहेको बताइएको छ ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र बेलायतभर रहेका आफ्ना पदाधिकारीहरुको सक्रियतामा तथ्यांक बटुलिएको जनाएको छ ।

हेल्पलाइनको समेत संयोजन गरिरहेका सचिव जीत रानाभाटका अनुसार एनआरएनलाई सूचना आएअनुसार पछिल्लो २ महिना अवधिमा मृत्यु हुनेहरुको संख्या अझै धेरै छ। हाम्रो स्रोतबाट सम्बन्धित परिवार र निकट स्रोतसंग सम्पर्क गर्दा कोरोनाको संक्रमण पुष्टी हुनेको संख्या ४९ हो।

एनआरएनए यूकेले बटुलेको तथ्यांकअनुसार बेलायतमा कोरोनाको संक्रमणका कारण कुल ८६ जना नेपाली अस्पताल भर्ना भएका छन्। उनीहरुमध्ये २१ जना अझै पनि अस्पतालमै उपचारको क्रममा छन् ।

प्रकाशित मिति: : 2020-05-05 07:23:28

प्रतिकृया दिनुहोस्