पर्साको पकहामैनपुर स्वास्थ्य चौकीमा दुधे बालक लिएर उपचारको लागि आएकी निर्मला देवी मास्क नलगाएर साडीको आँचलले मुख छोपेकी छिन्। उनको बुझाईमा ‘मुख मात्र छोप्नुपर्छ कोरोना सर्दैन’।
छिनछिनमा उनको काखमा रहेको २ वर्षे बालक आमाको दुध खान खोज्छ। आमा निर्मलाले खुवाउँछिन पनि, तर साबुन पानीले हात नधोईकन।
सोही स्थास्थ्य चौकीमा २ जना अरू महिला कुर्ताको पातलो सलले मुख बेरेका छन्। अफसाना खातुनको सल मुखमा राम्रोसँग अडिएको छैन। उनीसँगै आएकी अर्की महिलाको पनि अवस्था उस्तै छ। अस्पताल जस्तो जोखिमपूर्ण ठाउँमा आउँदा समेत उनीहरू मास्कबिहिन थिए। ‘मास्क धोएर सुकाएको सुकेन, अनि यसैगरी आयौं’, उनीहरूले समस्या देखाए।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाईरसले विश्वभर महामारीको रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार यो समाचार तयार पार्दासमम् ३६ लाख हाराहारीमा मानिस भाईरसको संक्रमणमा परेका छन्। जसमध्ये २ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
विश्वभर अझै २१ लाख ७७ हजार मानिस उपचार गराइरहेका छन्।
हाम्रो देश नेपाल पनि कोरोनाको संक्रमणबाट अछुतो रहेन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशभरीमा संक्रमित संख्या ७५ पुगेको छ। जस मध्ये १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
छिमेकी मुलुक भारतमा पछिल्लो समय तिब्र रूपमा कोरोना संक्रमित फेला पर्दै आएका छन्। ४२ हजार बढीमा संक्रमण फेला पर्दा करिब १४ सयले ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका अधिकांश संक्रमित भारतबाटै भित्रिएका हुन्। यस्तो अवस्थामा भारतसँग खुला सीमाना जोडिएका तराईका जिल्लाहरू कोरोनाको उच्च जोखिममा छन्।
यस्तो विषम परीस्थितिमा अहिलेसम्म अधिकांश गाउँमा सचेतना पुग्न सकिरहेको छैन। शहरी क्षेत्र केन्द्रीत सचेतना कार्यक्रम तराईका ग्रामिण भेगका नपुगेको देखिन्छ। यहाँका जनतामा कोरोना कुनै पनि त्रास देखिँदैन। यहाँका जनतालाई मुखमा मास्क किन लगाइन्छ भन्ने बारेमा समेत खासै जानकारी छैन।
यसैबिच रिपोर्टिङकै क्रममा पर्साका केही ग्रामिण क्षेत्रमा पुग्दा बर्वा टोलको सडक किनारमा बिना मास्क एक महिला गाई स्याह्रार्दै थिइन्।
भारतीय सीमा नाका सिक्टा भिस्वानाकासँग जोडिएको पकहामैनपुर गाउँपालिकाहुँदै आउने यो सडक विरगन्जको तिलावेपुलमा जोडिन्छ। यसकारण यो सडकमा चहल पलह निकै हुन्छ।
गाउँका स–साना बालबालिका असुरक्षीत रूपमा सडक किनारमा खेल्दै गरेका भेटिन्छन्। यस्तो अवस्थामा घरबाहिर निस्किएर काम गर्दा जोखिम हुने भए पनि मास्क किन लगाउनु भएन भनेर बिएल नेपाली सेवाले प्रश्न गर्दा उनी भन्छिन्,‘हामी देहातको मान्छे खेतमा कटनी पिटनी घाँस काट्नेदेखि भुसा उठाउँने सबै काम गर्नुपर्छ अब यो मास्क लगाउने बानी पनि छैन लगाएर काम गर्दा हाम्रो त साँस नै फुलेर आउँछ।’
उनकै गोठ अगाडिको सडकमा साईकलमा सवार इमामुल राउत गद्दि वीरगन्जतर्फ दूध बोकेर जादै जादै थिए। उनी कोरोनाबाट जोगीन मुखमा मास्क र हातमा पञ्जा नलगाई बिना सावधानी ग्राहकको घरघरमा पुग्दैछन्। दूध लिएर कैयन मानिसको घरमा जानुपर्ने भएकाले मास्क र पञ्जा किन नलगाएको भन्ने प्रश्न गर्दा उनले ‘घरमै बिर्सेर छुटेको’ बताए।
‘गर्मीको दिनमा दूध बिग्रिन्छ भनेर हतार हतारमा निस्कँदा घरमै बिर्सिए। अरू दिन त लगाउँछु’, उनले भने, ‘कोरोनाको डरले सबैले घर घरमा मास्क राखेकै छन्। तर गाउँघरको मानिसलाई यसबारेमा खासै जानकारी नै छैन त्यहीँ भएर लगाउँदैनन्।’
अहिलेसम्म औषधिमूलो पत्ता नलागेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्ने उत्तम उपायको रूपमा मास्कलाई लिइन्छ। संक्रमित व्यक्ति मात्र नभइ साधारण व्यक्तिले पनि घरबाहिर अथवा अन्य काममा हुँदा पनि नियमित मास्क लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनले भनेको छ।
सकेसम्म भीडभाडमा नजादा कोरोनाबाट बच्न सकिने विशेषज्ञको तर्क छ। नेपाल सरकारले पनि सर्वसाधारणलाई भीड हुने स्थानमा नजान यसअघिनै रोक लगाएको छ। तर ग्रामिण भेगमा यसको पालना हुन सकिरहेको छैन। गाउँघरका मानिसहरू एक अर्कासँग कुराकानी गर्दा पनि समाजिक दूरीको पालना गर्न सकेका छैनन्।
वर्वा टोलभन्दा केही पर बालबालिकाहरू पोखरीमा माछा मार्दै थिए। जिउँभरी हिलो छ्यादै उनीहरु त्यसमै रमाएका छन्। अहिले गर्मियाम भएकोले गाउँघरका खोलानाला तथा पानीको नहर कुलोहरू सुकेर हिलाम्ये भएका छन्। जसकारण स्कुले बालबालिका लकडाउनको मौका छोपेर समूह बनाई माछा मार्न निस्कन्छन्।
माथिका समस्या अहिले अधिकांश गाउँका साझा समस्या हुन्। उनीहरूलाई मास्क लगाउनुपर्छ भन्ने जानकारी त पर जाओस्। साबुनपानीले पनि हात धोएर केही खानुपर्छ भन्नेसम्म जानकारी छैन्।
कोरोनाबाट बच्न समय समयमा साबुन पानीले राम्री हात धुनुपर्छ, हातले शरीरका आँखा, नाक र मुखलगायत सजिलै भाइरस शरीरमा प्रवेश गर्न सक्ने अंगमा छुने बेला हात सफा गर्नुपर्छ भनेर रेडियो टिभीले भने पनि यहाँका गाउलेहरू मान्न तयार छैनन्।
संक्रमणको डरले यतिबेला शहरी क्षेत्रका जनता अहिले बिना काम बाहिर निस्कदैनन्। घरभित्रै सिमित छन्। तर यता ग्रामिण भेगका जनतामा आफ्नो सुरक्षाको लागि खासै गम्भीर भएको देखिदैन। लकडाउनका कारण गाउँघरका खाद्यान्न पसलबाहेक अन्य पसल बन्द छन्। तर पनि त्यहाँका स्थानीयवासी मुखमा मास्क नै नलगाइ चोक चौराहामा समूह बनाएर गफ गरिरहेका भेटिन्छन्।
शहर केन्द्रीत प्रशासन पनि गाउँघरमा पुगेको देखिदैन। अमरपट्टि भन्ने गाउँसम्म पुग्दा केही मजदुरहरू घर बनाउने काममा व्यस्त थिए। त्यहाँ पनि कसैको मुखमा मास्क थिएन र हातमा पञ्जा पनि साथै सामाजिक दूरीकोसमेत पालना गरिएको थिएन।
गाउँघरमा भएको स्थास्थ्य चौकीमा समेत बिना मास्क उपचार भइरहेको र बिरामी पनि बिना मास्कमै अस्पताल पुग्ने गरेका भेटिए।
‘गाउँपालिकाबाट जम्मा २ वटा मास्क पायौं तर घरमा सबैको लागि मास्क खरिद गरेका छौं, अहिले चेकजाँच गराउन आउँदा हतार हतारमा घरमै छुट्यो,’ सुत्केरी बुहारी लिएर पकहामैनपुर गाउँपालिकाको स्वास्थ्य चौकीमा पुगेकी प्रभा देवीले भनिन्।
प्रभासँगै उनका छोरा पनि छन्। त्यहाँ आएका कसैको मुखमा मास्क थिएन।
यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीले स्थानीयलाई सचेत गराउने अहम् भूमिका हुन्छ। तर सो स्वास्थ्य चौकीका इन्चार्जबाहेक त्यहाँ कार्यरत सबै कर्मचारी बिना मास्क बिरामीको उपचार गरीरहेका थिए।
यस्तो असुरक्षित तरीकाले किन बिरामीको उपचार गरीरहेको भनेर प्रश्न गर्दा ‘हामी बिरामी आउँदा कपडाको मास्क लगाउँछौ,’ भन्ने जवाफ आयो।
ग्रामिण भेगका जनतामा अज्ञानताका कारण सचेत नभएको पकहा स्वास्थ्य चौकीका इन्चार्ज राज कुमार कर्णले बताए।
‘स्वास्थ्य चौकीमा आउँदा सबैलाई मास्क लगाएर आउँनुपर्छ भनेर हामी भन्छौ, तर यहाँ जनतामा चेतनाको अभावले यस्तो समस्या भईरहेको छ’, उनले भने, ‘कतिपय बिरामी खल्तीमै मास्क लिएर आउँछन्। हामी मास्क किन नलगाएको सोधेपछि लगाउँछन्।’
पकहा स्वास्थ्य चौकिपछि लहावरथकरी हेल्थपोस्टमा पुग्दा त्यहाँ पनि समस्या उस्तै थियो। स्वास्थ्य चौकीकी अनमी हेमन्ती देवीका अनुसार गाउँघरका बजार बन्द भएकाले यहाँ मास्क पाउन गाह्रो छ। लकडाउनको कारण अन्यत्र जान सकिँदैन। गाउँपालिकाले मानीसको संख्या अनुसार भन्दा पनि घरको संख्या अनुसार मास्क वितरण गर्यो। त्यसैले एक परीवारमा यदि ५ जना छन भने २ वटा मास्कले कसरी पुर्याउने? यही भएर यहाँ कठिनाई छ।
यस्तो अवस्थामा स्थानीय सरकारले नागरिकको स्वास्थ्यको ध्यान दिनुपर्ने उनको भनाई छ।
शहरबजारमा विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएर मानिसहरू सचेत छन्। तर गाउँघरतिर कोरोनाबाट कसरी जोगीने भन्ने प्रभावकारी कार्यक्रम हुन नसकेर यस्तो समस्या देखिएको हो।