बेलायती प्रधानमन्त्रीको खुलासाः डाक्टरहरू मेरो मृत्युको घोषणा गर्ने तयारीमा थिए

कोरोना संक्रमणबाट जोगिएर घर फर्किएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले एक समय डाक्टरहरूले आफूलाई मृत घोषित गर्न लागेको खुलासा गरेका छन्। ५५ वर्षीय जोन्सनलाई २६ मार्चमा कोरोना संक्रमणको लक्षण देखिएको थियो।

यसपछि उनी ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका थिए। 

तर, अवस्था नसुध्रिएपछि उनलाई लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। १२ अप्रिलमा अस्पतालबाट पूर्ण रूपमा निको भएर उनी घर फर्किएका थिए भने अहिले कार्यालय पनि फर्किसकेका छन्। उनलाई ६ देखि ९ अप्रिलसम्म आइसीयूमा राखिएको थियो। बेलायतमा शनिबारसम्म कोरोनाबाट २८ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। 

बेलायती अखबार ‘दि सन’ लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘७ अप्रिलमा आइसीयूमा राखेपछि मलाई थुप्रै लिटर अक्सिजन दिइएको थियो। तर, मेरो स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरूले लगभग आशा छोडिसकेका थिए।’

जोन्सनले आफ्नो प्रेमिका केरी साइमण्ड्सबाट भर्खरै जन्मिएको छोराको नाम आफूलाई नयाँ जीवनदान दिने डक्टरको नामबाट राखेका छन्। उनले छोराको नाम विल्फ्रेड लरी निकोलस जोन्सन राखेको जानकारी दिए। निकोलस उनको ज्यान बचाउने डाक्टर हुन्, जसको नाम निकोलस प्राइस हो। 

उनले आफू भाग्यमानी रहेको बताए। ‘मेरो अवस्था यति दयनीय भएको थियो। म निराश भइसकेको थिए,’ उनले भने। उनले बिरामी हुँदा आफ्नो बच्ने मौका ५०–५० प्रतिशत रहेको बताएका थिए। 
 

प्रकाशित मिति: : 2020-05-03 18:59:36

प्रतिकृया दिनुहोस्