वामदेवलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार ‘झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्र’

बिएल संवाददाता

काठमाडाै‌ं

निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने भन्ने कुरा झुठो र भ्रामक भएको बताएका छन् । 

शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पाल्पा क्षेत्र नं. १ बाट 
पहल गर्ने निर्णय गरेको थियो। जसको प्रस्तावक महासचिव विष्णु पौडेल थिए।  गौतमलाई जिताएर ल्याउने जिम्मा पनि आफूले लिने बताएको स्रोतको दाबी गरेको थियो।

तर बैठक सकेको केही घण्टा पछि यसको खण्डन गर्दै रानाले फेसबुकमा स्टाटस लेख्दै सांसद रानाले उक्त कुरा झूठो, भ्रमपूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको उल्लेख गरेका छन्।

‘केही समयदेखि पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई सचिवालयको बैठकमा नेताहरुले आत्मालोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, तीनजना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण  निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा सम्पूर्ण नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’ भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ सांसद रानाले लेखेका छन् ।

सांसद राना गाैतमकाे नजिकमा व्यक्ति मानिने गरिन्छ। गएकाे बुधबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नाे पक्षमा सांसद जम्मा गर्न हस्ताक्षर अभियान चलाउँदा उनी गाैतम खेमामा उभिएका थिए। 

उक्त क्षेत्र मगरबहुल मानिन्छ। गाैतमका मगर ससुराली हुन्। अर्काेतर्फ उक्त स्थान पूर्वएमालेकाे बलियाे प्रभाव भएकाे क्षेत्र हाे। गाैतमले पञ्चायतकालमा त्यस क्षेत्रमा पार्टीकाे काम गरेका पनि हुन्। गाैतमलाई प्रतिनिधिसभामा ल्याउन महासचिव पौडेल चाहन्छन्। पाैडेललाई गाैतमले नै ०५१ सालमा संगठन विभाग प्रमुख बनाएका थिए।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पदत्याग गर्नुपरे काेराेना भाइरसकाे महामारीपछि गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गरेका थिए।

त्यहाँदेखि नै उपाध्यक्षा गौतम, प्रचण्ड-नेपाल गठबन्धनका बैठकमा सहभागी हुन छोडेका थिए। यता प्रधानमन्त्री एक्लै पर्ने डरले महासचिव पाैडेलले गाैतलमलाई अगाडि सारेका थिए। तर रानाले साे प्रस्तावबारे आफूलाई कुनै जानकारी नभएकाे बताइसकेका छन्।
 

प्रकाशित मिति: : 2020-05-03 11:16:00

प्रतिकृया दिनुहोस्