लघुकथा
रानी र प्राणको बिहे भएको पाँच वर्ष भयो। भागी-बिहे भएकैले होला रानी र प्राण एक अर्कामा औधी माया गर्थे।
मणिपुरको राजधानी इम्फाल शहरको पूर्वी भागमा पर्ने एउटा टोलमा भाडामा लिएको तीनकोठे डेरा। बोर्डिङ स्कुलमा मास्टरी गरेर पाएको सीमित रकमले जसै तसै गुजारा चलिरहेको छ। दुवै सन्तुष्ट छन्। एउटा तीन वर्षे छोरो तोतेबोलीमा लाडे पल्टिँदै टुकुर टुकुर हिँडेको देखेर रानी र प्राण आफूलाई चट्ट बिर्सीदिन्छन्। प्रेमको साझा निसानी सम्झन्छन्। आजको सपना भोलि विपनामा साकार हुने कुरामा दुवै हाईढुक्क छन्। यसरी रानी र प्राणको प्रणय-गाथा कसिलो डोरी बनेर हुर्की रहेको थियो।
एकदिन कुरैकुरामा प्राणले रानीलाई अंगालोमा कस्सेर भन्यो, 'रानी म तिमीलाई कत्ति माया गर्छु? म आफैं भन्न सक्तिनँ। सागर भन्दा अथाह! आकाश भन्दा असीमित। संसारका जम्मै दु:खहरू तिम्रा ती आँखाका नानी भित्र पसेर बिर्सीदिन्छु। साँच्चै रानी! म तिम्रा लागि त मरीदिन पनि सक्छु।’
'भो-भो फिल्मी डाईलग छाँटनु पर्दैन। तपाईँ जहिले पनि यसरी नै इत्रिनु हुन्छ। अति त नगर्नू पो। अतिमा त खति पनि हुन्छ हजुर। अर्काको लागि ज्यान फाल्न त्यति सजिलो छैन। तपाईँ मेरा लागि कहिल्यै मर्न सक्नुहुन्न,’ रानीले प्राणको हात झडकाई दिएर तरकारी केलाउन थाली।
'न पत्याएकी त रानी! साँच्चै मरिदिउँ त? म अहिले नै मर्न सक्छु,' प्राण रानीलाई प्रेमको पराकाष्ठा देखाउन चाहन्थ्यो।
'लु लु साँच्चै मर्नुहोस् न त, म पनि हेरौं,' अनायास भनिहाली। रानी प्राणबाट अझै धेरै माया चाहन्थी।
प्राण जुरुक्क उठेर सिटीङ रूमतिर गयो। टेबुलमाथि कुर्सी ओच्छ्यायो। कुर्सीमाथि चडेर सिलीङफ्यानको रडमा रानीको चुन्नी कस्सेर बाँध्यो। यसपछि आफ्नो घाँटीमा पनि सुर्किने पारेर बाँध्यो। रानीका लागि प्राण त्याग्ने तयारी अवस्था बनायो। ‘रानी आउ त हेर्न... भन्न खोज्दै थियो।
अचानक बाहिर खल्यांग खुलुंगका चर्का स्वरहरू सुनिए। 'आन्टी आन्टी छिटो आउनु नि बाहिर। आईहाल्नु न छिटो। तपाईँको छोरा राहुललाई बाईकले किच्यो। छिटो आउनु। छिटो आउनू,’ केटाकेटीहरू चिच्याईरहेका थिए।
रानी हाँप र झाँप गर्दै बाहिर पुगी। राहुलको थिल्थिलो मृत देह देखेपछि च्याप्पै बोकेर प्राण! डाक्टर... भन्दै सिटिङ रूम भित्र पसी। मृत्युको तैयारी अवस्था बिर्सिएको प्राणले राहुलको घटना सुन्ने साथ हाम्फालेर जान खोज्दा रानीको चुन्नीमा तुर्लुंग झुन्डिएको शरीर देखेपछि पति र पुत्र एकैचोटि गुमाएकी रानी भुईँमा पछारिएर मूर्छा परी.....।