सधैँझैँ अहिले पनि सामाजिक सञ्जाल अत्यन्त सक्रिय छ । अभिव्यक्तिका निम्ति सम्भवतः सामाजिक सञ्जाल जति स्वतन्त्र अन्य कुनै ठाउँ नै छैन । हो न हो, लोकतान्त्रिक अभ्यासको सर्वाधिक प्रकट रूप नै सामाजिक सञ्जाल जस्तो भएको छ । कसैका अगाडि सशरीर उपस्थित नभइकनै, कसैको अनुहारको भाव नहेरिकनै, कसैबाट तत्कालै शारीरिक वा मानसिक आक्रमण खेपिने सम्भावनाबाट पूरै बचेर, अचम्मको अपरिमित स्वतन्त्रता भोग गर्न पाइने स्थल बनेको छ यो । साँच्चै भन्ने हो भने सामाजिक सञ्जालले लोकतान्त्रिक अभ्यासको स्वरूप नै फेरिदिएको छ । एउटासिङ्गो नयाँ आयाम नै थपिदिएको छ । यति फराकिलो अभिव्यक्ति स्वतन्त्रता कुनै पनि किसिमको लोकतन्त्रमा कुनै पनि कालखण्डमा मानिसले उपभोग गर्न पाएको थिएन ।
वर्तमानमै पनि सामाजिक सञ्जालमा पाइने अभिव्यक्ति स्वतन्त्रता अन्य कुनै सम्भाव्य नागरिकस्थलमा पाउन असम्भव छ । तर यो स्वतन्त्रताको मूल्य त्यत्तिकै चर्को पनि छ । र, मानवसमाजले त्यो मूल्य लगातार तिरिरहेको छ । अति स्वतन्त्रताका कारण सामाजिक सञ्जालमा स्थान पाएका सामग्रीले पार्ने प्रभाव र ल्याउने परिणाम त्यत्तिकै चर्का हुनसक्छन् । यस्ता परिणाम साँच्चै सकारात्मक, रचनात्मकदेखि लिएर अत्यन्तै नकारात्मक, हानिकारक विध्वंशकसम्म हुन्छन् । सामाजिक सञ्जालमा ज्यादै स्वस्थ, सार्थक र विवेकपूर्ण छलफलदेखि लिएर सस्ता, फोहोरी रोगी गफगाफले पनि ठाउँ पाइरहेकै हुन्छन् ।
यतिबेला पनि सामाजिक सञ्जाल अनेक किसिमका अन्तरक्रियाले भरिएको छ । त्यसमा ‘राजनीतिक स्थिरता कि अस्थिरता?’, ‘विधिको शासन कि मनपरी?’, ‘व्यक्ति केन्द्रीयता कि लक्ष्य केन्द्रीयता?’, ‘लोकतन्त्रमा आचारको महत्व’ जस्ता सार्थक सवालसँगै मुछिएर अनेक किसिमका फोहोरी गालीगलौज र आत्मश्लाघाका अति सस्ता उदाहरणसम्म देखापरिरहेका छन् ।