फुलनदेवीले किनेकी थिइन्, रानुदेवीको बनारसको घर

नवीन अर्याल

काठमाडाैं

प्रजातान्त्रिक नेपाल रेडियोकी पहिलो गायिका रानुदेवी अधिकारीको बनारसस्थित घर भारतकी चर्चित ‘डाकु’ फुलनदेवीले किनेकी थिइन्। रानुदेवीको जन्म १९९३ सालमा वीरगञ्जमा भएको थियो। उनको पुर्ख्याैली घर तनहुँ भए पनि हजुरबुवा देवीप्रसाद (पौडेल)उपाध्याय र उनका भाई सिद्धिप्रसाद छोराछोरीको भविष्यका लागि राणाकालमै ‘शिक्षाको ठूलो केन्द्र’ मानिने बनारस पुगेका थिए। 

उनीहरूको वीरगञ्जमै १५ मौजाको खेती थियो। रानुदेवीका काका अम्बिकाप्रसाद उपाध्याय भारतको न्याय क्षेत्रमा कहलिएका न्यायाधीस थिए। 

बुवा इश्वरीप्रसादको दुई श्रीमति थिए। जसमा जेठी इन्दिराको पाँच सन्तानमध्ये रानुदेवी माइली छोरी हुन्। जेठी सुरा पौडैल अर्थात नोना कोइरालाको बिहे नेपाली कांग्रेसका नेता शेखर कोइरालाको बुवा केशवप्रसादसँग भएको थियो। 

रानुदेवीको १३ वर्षको उमेरमा बिराटनगरका जमिनदार तीर्थप्रसाद अधिकारीसँग भएको थियो। तीर्थ नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १३ दिने दाजुभाई थिए। काइली बहिनी सरोजको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता रवीन्द्रनाथ शर्मा र कान्छी बुनु पौडेलको नेपाली कांग्रेसका नेता आमोद उपाध्यायसँग बिहे भएको थियो।

उनको जेठा दाजु विजेश्वरीप्रसाद उपाध्याय नेपाली कम्युनिस्ट आन्दोलनका ठूला व्यक्तित्व थिए।  

उनको बुवाको काशीमा ८० कोठाको बंगला थियो। जसलाई पछि ‘डाकु’ फुलनदेवीकी श्रीमान उम्मिद सिंहले फोडेर ठूलो मल बनाएका थिए। 

परिवार पहिलेदेखि नै राजनीतिमा सक्रिय भएका कारण रानुदेवीमा पनि राजनीति चेत थियो। सानैदेखि स्वरकी धनी रानुदेवीलाई बिहे गरेर बिराटनगर आएपछि तारणीप्रसाद कोइरालाले ०७ सालको क्रान्तिमा होम्मिन प्रोत्साहित गरेका थिए। 

०७ सालको क्रान्ति अगावै जनताहरूलाई राणा शाषनविरूद्ध सुसूचित गराउन तारणीले पहिलेको गणपति कटन मिलमा सानो रेडियो स्टेशनको निर्माण गरेका थिए। जसलाई प्रजातान्त्रिक रेडियो नेपाल भनिन्थ्यो। यही रानुदेवी गीत गाउने गर्थिन। 
उनको पहिलो गीत थियो–

आज देशको क्रान्ति युद्धमा
हाम्रो एक पुकारा होस्। 
लड्दा लड्दै मरे मरौला
यो एउटा नै नारा होस्। 

उनले त्यति बेला गाएको यो गीतले सिंगो नेपाली समाजमा तरंग पैदा भएको थियो। एउटा महिलाको सुरिलो आवाजमा क्रान्तिको गीत सुनेका नेपाली महिलालाई यो गीतले यति प्रभाव पार्‍यो, चुलोचौका गरेर बसेका त्यति बेलाका नेपाली नारीहरू पनि हक र अधिकारको लडाईंमा होम्मिए। 

२००८ सालमा नेपाली कांग्रेसका संस्थापक नेता तथा गृहमन्त्री विपी कोइरालाको हत्या गर्ने उद्देश्यले गोर्खा दलका कार्यकर्ता खुडा र तरबार बोकेर मन्त्री क्वाटरमा प्रवेश गर्दा रानुदेवी पनि त्यही उपस्थित थिइन। उनले त्यो घटना प्रत्यक्ष देखेकी थिइन। 

२००७ सालमा प्रजातान्त्रिक आन्दोलन सफल भएपछि तारणीले उनको गीत रेकर्ड गर्न भारतको कोलकाता लगेका थिए। कोलकाताको हिन्दुस्तान रेकर्डिङ स्टुडियोमा उनले ६ वटा गीत रेकर्ड गरेकी थिइन। जसमा उनको पहिलो क्रान्तिकारी गीतका साथै एउटा आधुनिक गीत पनि थियो। जुन गीत अहिले पनि चर्चित छ।  

जुनेली रात हजुर 
गम्किन्छ बास हजुर
फागुनको सितल बतास। 

नेपाल महिला संघमा रहेर काम गरेकी रानुदेवीले बिराटनगरको आदर्श बालिका स्कुलमा लामो समय अध्यापन गराएकी थिइन। पत्रकार शंकर खरेलले उनको जीवनी पुस्तकमा उतारेका थिए। 

खरेल भन्छन्, ‘उहाँको पुस्तक र डकुमेन्ट्री हामीले काठमाडौंमा अनावरण गर्दा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आँखाबाट आशु झरेको थियो।’ उनी रानुदेवीलाई कोमल हृदयको तर नेपाली कांग्रेसको नीतिमा चट्टान झै अडिएको नेताको रूपमा सम्झन चाहन्छन्। भन्छन्, ‘उहाँको श्रीमानलाई पाको उमेरमा पनि श्रीमति राजनीतिक कार्यक्रममा गएको मन पर्दैन्थ्यो। तर, उहाँ छोड्ने वाला कहाँ हुनुहुन्थ्यो। केही कार्यक्रम भयो कि पुगिहाल्नु हुन्थ्यो।’

खरेलकै सक्रियतामा विगत ९ वर्षदेखि रानुदेवी कला पुरस्कारको आयोजना हुँदै आइरहेको छ।   
 

प्रकाशित मिति: : 2020-05-01 14:21:28

प्रतिकृया दिनुहोस्